मृत्यु कार्यमा समथिङ : जो २५ वर्षमा गए ४९३ जनाको मलामी

मृत्यु कार्यमा समथिङ : जो २५ वर्षमा गए ४९३ जनाको मलामी


पाँचथरमा हुने हरेक मृत्युमा रामप्रकाश गुरुङको (रामप्रकाश ‘समथिङ’) नाम आउँछ । उनी सुनेजति हरेक मृत्यु संस्कारमा सहभागी हुने गर्छन् । मृत्यु खबर सुनेपछि उनी आफूलाई चाहिने सामान खुकुरी तथा बाँस बोकेर जान्छन् । उनी मृत्यु संस्कारमा गएर दाउरा मिलाउनेदखि शव जलाउनेसम्मको काम गर्छन् । यसरी मृत्यु संस्कारमा सहभागी हुनुलाई उनी अनिवार्यठान्छन् ।

५३ वर्षीयगुरुङले २०५३ वैशाख १ गतेदेखि निरन्तर मलामी गएको अभिलेख राख्न थालेका हुन् । उनी त्यो भन्दा पहिलेपनि धेरैको मलामी गएको सुनाउँछन् । तर त्यसको हिसाब भने उनले राखेका छैनन् । उनी सानैबाट मलामी कार्यमा सहभागी हुन रुचाउँथे तर घरपरिवारको रोकतोक हुने गरेको सुनाउँदै भन्छन्, ‘म केटाकेटी बेलामा पनि आमा र बुबालाई छलेर लुकी लुकी मलामी जाने गरेको थिएँ । त्यही बेलाबाट मृत्यु संस्कारको बारेमा ज्ञान लिन थालेको हुँ ।’ अभिलेख राखेदेखि उनी  हालसम्ममा ४९३ जनाको मलामी गए । जसमा महिला  २०६ र पुरूष २८७ जना छन् । 

सामान्य परिवार प्राथमिकतामा 
पाँचथरको फिदिम घर भएका गुरुङ मलामी जानु मानवीय धर्म हो भन्ने ठान्छन् । धनाड्य परिवारको भन्दा सामान्य परिवारको मलामी जान आफूलाई इच्छा भएको सुनाउँछन् ।उनी भन्छन्,‘म सामान्य परिवार तथा न्यून आय भएका मानिसहरुको मलामी जाँदा शवसलाई खरानी बनाएरमात्र फर्कने गर्छु । मानिस धेरै भएको तथा धनाढ्य परिवारको मलामी जाँदा आगो लगाएर फर्किन्छु ।’उनी थप्छन् , ‘मेरो प्राथमिकता सामान्य परिवार हुन् ।’मृत्युको खबर पाएपछि मलामी जान गुरुङ सानोतिना, जात, धर्म, पार्टी केही छुट्याउँदैनन्। उनी मृतकलाई चिहानडाँडा वा घाटसम्म पुर्याउन चाहिने ‘खट’ बनाउँछन्। उनी बजारको बीचबाट पनि बाँस तथा अन्त्येष्टिका लागि आवश्यक पर्ने सामान बोकेर हिँड्न हिचकिचाउँदैनन् । उनी भन्छन्, ‘कसैको मृत्युको खबर सुनेपछि भ्याएसम्म र सकेसम्म सहभागी हुनु मानवीय कर्तव्य हो।’ जिउँदाको जन्ती, मर्दाको मलामी भन्ने उखान सम्झँदै उनी भन्छन्, ‘मलाई लास जस्तोसुकै भएपनि घिन लाग्ने तथा जलाउँदा गनाउनेसमेत हुँदैन, न मलाई गन्ध आउँछ, न डर लाग्छ ।’

समाजमा मान राम्रो पाएको छु 
गुरुङ सामान्य परिवारभएका मानिस हुन् । साथीभाईमाझ राम्रो सम्बन्ध भएका उनी पाँचथरमा सबैका समथिङ भनेर चिनिने गर्छन् ।  नचिनेका मानिसको निरन्तर मलामी जाँदा वरपरका मानिसहरुले कुरा काट्ने गरेको भएपनि उनी तिनीहरुलाई बेवास्ता गरेर हिन्ने गरेका थिए । तर अहिले तिनै कुराकाट्ने मानिसहरुले उनको प्रशंसा गर्ने गरेका छन् । दीन दुःखीको मृत्यु भए कात्रोदेखि लिएर आर्थिक समेत जुटाउन आव्हान गर्ने उनलाई अहिले पाँचथरको सुख दुःखको एक सारथीसमेत मान्ने गरेका छन् । उनले अहिले साथीभाई तथा समाजबाट समेत राम्रो साथ पाएका छन् । 

अभिलेख अनिवार्य 
सुरु सुरुमा मलामी गएका मानिसहरुको उनी नाम मात्र राख्ने गरेका थिए । तर पछिल्लो समय उनी नाम थर ठेगाना तथा पारिवारिक विवरणसमेत राख्ने गरेको सुनाउँछन् । उनी बेलुका घर आएर अनिवार्यरुपमा अभिलेख राख्ने गर्छन् । यो उनको नियमित काममा पर्ने गरेको छ ।‘बाँच्दा जे-जे भयो तर मृत्युपछि विदाइ सम्मान र विधिपूर्वक गर्नुपर्छ’, भन्ने उनको मान्यता छ । नाजुक आर्थिक अवस्था भएका मानिसहरुको मलामीमा सहभागी हुने मानिसहरुको उपस्थिती देख्खा उनलाई दुःख लागेको सुनाउँदै उनी भन्छन्, ‘नाजुक आर्थिक अवस्था भएका कोही कोही परिवारलाई दाउरासम्म किन्न हँदैन यस्तो बेला मेरो आँखा रसाउने गर्छ । मेरो प्राथमिकता नाजुक परिवार भएकाले साथीभाई र आफूबाट केही रकम उठाएर दिनेसमेत गरेको छु ।’ उपल्लो जाति, सामाजिकर राजनीतिकरूपमा प्रतिष्ठित व्यक्तिको मृत्युमा भने मलामीका लस्कर लाग्ने उनको २६ वर्षको अनुभव छ । 

साहित्य तथा शैक्षिक सेवा 
३ दशकभन्दा लामो समयदेखि साहित्य तथा लेखन क्षेत्रमा सक्रिय गुरुङको पहिचान मलामी जानेसँग मात्र जोडिएको छैन । साहित्य लेखन २०४८ सनलदेखि ३० सुरु गरेका उनले  जिल्लाको सामाजिक सेवा क्षेत्रको अग्रणी व्यक्ति गुरुङ प्रचारभन्दा काम रुचाउँने गर्छन् । गुरुङले २०७४ सालमा एकैपटक २५ वटा किताव प्रकाशन गरेका थिए । उनले हालसम्म ५३ वटा कृर्ति प्रकाशन गरेका छन् । उनले समाज, साहित्य, भाषा तथा शैक्षिक क्षेत्रसँग सम्बधित कृर्ति प्रकाशन गरेका छन् । यतिमात्र होइन उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि समथिङ फाउण्डेसनमार्फत सहयोग गर्दै आएका छन् । सो संस्थाले साहित्यिक, सामाजिक र शैक्षिक क्षेत्रमा सहयोग तथा कामहरु गर्दै आएका छन् । संस्थाको सहयोग प्राप्तमध्ये दृष्टिविहीनहरू छात्रछात्राहरुले स्नातकोत्तर तहमा अध्ययनसमेत पुरा गरेका छन् । 

बाँचुञ्जेल निरन्तरता दिनेछु 
मानिस जन्मेपछि मृत्यु हुनु अनिवार्य हो । उनी भन्छन्,‘मलाई घिन लाज केही छैन र लाग्दैन् पनि । यही गर भनेर माथिबाट पठाएको हो कि जस्तो लाग्छ । कहिलेकाहिँ झुण्डिएर, लडेर तथा दुर्घटनामा परेका लासहरु किरा परेसम्मका समेत फेला पर्छन् । तर मलाई त्यस्ता लासदेखि पनि घिन लाग्ने हुँदैन । मलाई यसै गर भनेको होला । म यो कार्यबाट सन्तुष्ट छु । म सकेसम्म मलामी जाने कुरालाई निरन्तरता दिनेछु । अहिले मृत्युको संस्कार गर्ने कार्यमा समथिङको खोजी हुने गरेको छ । मलाई खुसी लाग्छ । सानैदेखि सामाजिक क्षेत्रमा लाग्न इच्छा थियो । यो कार्यलाई निरन्तरता दिनु मैले अनिवार्य ठानेको छु । म कसैलाई जात धर्म तथा लिङ्गको आधारमा विभेद गरेर समाज विचलन हुन दिन्नँ । मेरो लागि सबै मानिस उस्तै हुन्। म सबैको लागि उतिकै हुँ ।’अहिले पाँचथरमा मान्छेको मृत्यु भयो भने समथिङ खोज्न थाल्छन् । उनलाई जुनसुकै जात धर्मको संस्कार गर्न आउँछ ।

जनसेवाश्री पदकबाट विभूषित 
उनीे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनसेवाश्री पदकबाट विभूषित भएका छन् । उनी २०७९ वैशाख १ गते जनसेवाश्री पदक पाँचौं तहबाट सम्मान भएका हुन् ।गुरुङले साहित्य र समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएकाले सरकारले सो पदवी प्रदान गरेको हो । उनी भन्छन्,‘म राजनीतिक पहुँचभन्दा बाहिरको मान्छे । मेरो समाज सेवा तथा नेपाली साहित्यमा दिएको योगदानलाई राज्यले मुल्याङ्कन गरेको छ । पाँचथरमा बसेर गरेको कामलाई सबै राजनीतिक दलले सम्मान गरेका छन् । मेरो यो ५३ वर्षको कमाइ हो भन्ने ठानेको छु । राजनीतिक पहुँचभन्दा परको मान्छे । यो पदक पाएर मेरो जिम्मेवारी थपिएको छ ।’ उनी साहित्यमा पदक पाउने पाँचथरमा पहिलो व्यक्ति हुन् । 

Logo