विराटनगरमा शेखर हावी हुन खोजेपछि उम्मेदवार चयनमा सकस, भीमलाई अप्ठ्यारो पार्ने प्रयास

विराटनगरमा शेखर हावी हुन खोजेपछि उम्मेदवार चयनमा सकस, भीमलाई अप्ठ्यारो पार्ने प्रयास


महानगरपालिकाका उम्मेदवार चयनको अन्तिम चरणमा कांग्रेसको गढ मानिएको विराटनगर महानगरपालिकामा कसलाई मेयर बनाउने भन्ने विषयमा दह्रै रस्साकस्सी देखिएको छ। राम्रो मान्छेभन्दा पनि आफ्नो मान्छे ल्याउने जोडबलका कारण विराटनगरमा मेयरको उम्मेद्वार चुनाव जित्नेभन्दा गुट बलियो बनाउने तर्फ उद्धत देखिन्छ। 

प्रदेश एकको एक मात्र महानगरपालिका विराटनगरमा मेयर पदका लागि उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसलाई किन सकस पर्यो त ? 

नेपाली कांग्रेसभित्र रहेका विभिन्न गुटहरूले आ–आफ्नै आकांक्षी तयार पारेकाले उम्मेदवारको टुंगो लगाउन सकस परेको एक केन्द्रिय नेताले केन्द्रविन्दुलाई बताए । विराटनगर नेपाली कांग्रेसका लागि विशेष स्थान भएकाले पनि त्यस स्थानमा उम्मेदवारको टुंगो लगाउन थप सकस भएको ती नेताको भनाइ छ । 

विराटनगरमा यतिबेला पार्टी सभापति शेरबहादुर देउवा, अर्का नेता कृष्णप्रसाद सिटौला र शेखर कोइरालाको चासो बढेको बुझ्न सकिन्छ । त्यसमा पनि कोइराला परिवारको विरासत जोडिएको भन्दै नेता शेखर कोइरालाले अनावश्यक दबाब दिएपछि पार्टी केन्द्रिय नेतृत्व निर्णयमा पुग्न नसकेको बताइन्छ । कोइरालाले आफ्नो तर्फबाट नागेश कोइरालाको नाम अघि सारेका छन् । निर्वाचनमा राम्रै खर्च गर्न सक्ने भन्दै नागेशलाई अघि सारिएको जानकारहरुको भनाइ छ । 

यता संस्थापन पक्षबाट भने अमृत अर्याल र भीम पराजुलीको नाम चर्चामा छन् । जसमा कृष्णप्रसाद सिटौलाको समर्थन हालका मेयर भीम पराजुलीलाई छ। संस्थापन पक्षबाट नाम अघि सारिएका अमृत अर्याल विगतको निर्वाचनमा पराजित भन्दै सोही विषयलाई लिएर शेखर कोइरालाले पराजित हुने व्यक्तिलाई टिकट दिन नहुने अभिव्यक्ति दिएका छन् । यता भीम पराजुलीलाई लिएर एउटै व्यक्ति दोहोर्याउन नहुने कोइरालाको भनाइ छ। हार्ने मान्छेलाई दिन नहुने, जित्नेलाई पनि दिन नमिल्ने भन्ने शेखर कोइरालाको अभिव्यक्तिले विराटनगरको उम्मेदवार टुंगो लगाउने विषय थप जटिल बनेको छ । 

अघिल्लो निर्वाचनमा कोइराला परिवारको तर्फबाट नै टिकट दिलाइएका भीम पराजुली पछिल्लो समयमा कृष्ण सिटौला समूहसँग नजिक हुन पुगेपछि शेखरले भीमविरुद्ध स्थानीय तहदेखि केन्द्रसम्म नै गुट बनाएर विरोध  गरिरहेको भीम पराजुली निकटस्थ एक कार्यकर्ताले बताए ।

अर्को तर्फ शेखर कोइराला खुलेर नै भीम पराजुलीविरुद्धमा लागेको विराटनगरका एक युवा नेताले बताए । ‘शेखर आफ्नो मान्छेले महानगर मेयरको टिकट पाओस् भनेर सक्रिय छन् नै, त्यो भन्दा पनि भीमलाई राजनैतिक हिसाबले पत्तासाफ गर्ने गरि उनको विरुद्धमा मोर्चा बनाएर अघि बढेका छन्’ कांग्रेस मोरङका एक नेताले भने–‘चुनाव हार्ने मान्छेलाई टिकट दिन हुन्न भन्ने शेखर आफैं हुन्, तर खै किन हो, विगतमा अप्ठ्यारो अवस्थामा पनि चुनाव जितेका भीम पराजुलीलाई रोक्न कम्मर कसेर लागेका छन् ।’ चुनाव हार्ने मान्छेलाई पार्टीले टिकट नदिने भन्ने हो भने त शेखर आफैंले पनि संसदीय चुनावमा टिकट माग गर्नु नैतिकरुपमा ठिक हुने छैन्, उनले थपे । 

अघिल्लो निर्वाचनमा कोइराला परिवारको तर्फबाट नै टिकट दिलाइएका भीम पराजुली पछिल्लो समयमा कृष्ण सिटौला समूहसँग नजिक हुन पुगेपछि शेखरले भीमविरुद्ध स्थानीय तहदेखि केन्द्रसम्म नै गुट बनाएर विरोध  गरिरहेको भीम पराजुली निकटस्थ एक कार्यकर्ताले बताए । शेखरले भनेको अक्षरशः मानुन्जेलसम्म भीम पराजुली शेखरको नजरमा राम्रा थिए, तर जब सबै कुरा आफूले भनेजस्तो भएन, त्यसपछि भीमविरुद्ध केन्द्रिय सभापतिको उम्मेद्वार रहेका शेखर हात धोएर पछि लागे । 

विराटनगर कांग्रेसका युवा नेताहरूको मत समेत यतिबेला बाझिएको पाइएको छ । स्थानीय युवा सविन दाहाल भन्छन् ‘ स्थानीयमा उम्मेदवार दोहोरिनु हुँदैन भन्नेले स्थानीयमा मात्र होइन प्रदेश, संघीय निर्वाचनमा समेत दोहोरिएर उम्मेदवार नदिइयोस न त । स्थानीयमा मात्र होइन यो नीति, नियम सबैतिर समान लागू हुनेछ भनेर हस्ताक्षर गरियोस् । मान्य हुनेछ । यो मेरो मात्र निष्कर्ष हैन ऐले हामी करिब १५० जना युवाहरूको बैठकले निकालेको निष्कर्ष हो ।’

यता मेयर पराजुली पनि आफ्नो कामको मूल्यांकन पार्टीले गर्ने र आफूले टिकट पाउनेमा विश्वस्त रहेको बताउँछन् । उनले भने, ‘पार्टीले कामको मूल्यांकन अवश्य गर्ने भन्नेमा विश्वास लिएको छु । नयाँ व्यक्ती आउँदा महानगरको काम बुझ्दै समय जान्छ । म पुनः आउँदा पहिलो दिनबाटै कामलाई निरन्तरता दिन सक्छु ।’ 

मेयर पराजुलीका अनुसार उनले पुनः मेयरको टिकट  के कारणले नपाउनुपर्ने भन्ने प्रश्नको जवाफ स्पष्ट रुपमा दिन नेताहरुलाई चुनौतीसमेत दिएका छन् । ५ वर्षअघिको विराटनगर र अहिलेको विराटनगरमा प्रष्टरुपमा देखिने गरि काम भएका छन्, विराटनगरले काँचुली फेरेको छ,  दिनरात नभनी जनताको सेवामा सक्रिय व्यक्तिलाई गुटका आधारमा अवसरबाट बन्चित गराइने काम हुन्छ भने आगामी दिनमा कांग्रेसलाई स्थानीय तहमा थप असहज हुने मेयर पराजुलीको दाबी छ ।

‘मेयर सापले विराटनगर बनाउने धेरै काम गर्नुभएको छ । विराटनगरको ढल, नाला र डुबानको समस्या धेरै हदसम्म समाधान भएको छ । सडक सञ्जाल आकर्षक देखिएको छ । करिब १५० किलोमिटर सडक कालोपत्रे भएको छ ।’ महानगरका एक कर्मचारीले केन्द्रबिन्दुसँग भने, ‘महानगरपालिकाले आफैं बहुप्राविधिक विद्यालय सञ्चालनमा ल्याएको छ । विराटनगरवासीलाई सफा पिउने पानी उपलब्ध गराउन शुद्ध खानेपानी परियोजना सञ्चालन भएको छ । यस्ता धेरै काम भएका छन् जसको लिस्ट लामो बन्छ । विना स्वार्थ कम गर्ने व्यक्ती नै दोहोरिए हुन्थ्यो भन्ने छ हामीलाई त ।’
 

Logo