नेपाल-भारत साहित्य महोत्सवमा शताब्दी पुरुष जोशीसहित वरिष्ठ सर्जकहरु सम्मानित हुने

नेपाल-भारत साहित्य महोत्सवमा शताब्दी पुरुष जोशीसहित वरिष्ठ सर्जकहरु सम्मानित हुने


काठमाडौंमा आगामी बैशाख १६-१८ मा आयोजना गरिने नेपाल-भारत साहित्य महोत्सवकाे दोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ। 

नेपाल-भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सोही बैठकले जोशीको शिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ । 

सोही महोत्सवको अवसरमा वरिष्ठ साहित्यकारहरु प्रा. डा. वासुदेव त्रिपाठी, प्राज्ञ बैरागी काईंला, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्रा. डा. गोविन्दराज भट्टराई, डा. रामदयाल राकेश, र डा. राजेन्द्र विमललाई भानु-तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ। 

यसैगरी वरिष्ठ सर्जकहरु हिरण्यकुमारी पाठक, डा. गार्गी शर्मा, माया ठकुरी, प्रा. डा. उषा ठाकुर, डा. बेन्जु शर्मा, प्राज्ञ उन्नती बोहरा शीला, र पद्मावती सिंहलाई भानु-तुलसी साहित्य सम्मान प्रदान गरिने भएको छ। 

यसैगरी भारतका साहित्यकार एवं मेरठ फेस्टिबलका आयोजक डा. विजय पण्डितलाई नेपाल सम्मान २०२२ तथा नेपाल-भारत साहित्य महोत्सव प्रथम संस्करणका अध्यक्ष साहित्यकार गणेश लाठलाई पनि सम्मानित गरिने भएको छ। सबै सम्मान आगामी बैशाख १६ गते प्रदान गर्ने जानकारी महोत्सव सचिवालयले जनाएको छ। 

नेपाल-भारत साहित्य महोत्सवले गत ०७८ फागुन १४ गते भारतको केरलाबाट आएका साहित्यकारहरु डा. रतिका पंचारप्पोयिल कोट्टायि, डा. रम्या बालन के र कवि दिलना के. रविलाई सम्मानित गरिसकेको छ। सोही कार्यक्रममा दिल्लीबाट आएका साहित्यकारहरु कमला सिंह र दिलदार देहलवीलाई पनि सम्मान गरेको थियो ।

Logo