झापाको कनकाईमा टिकट पाउन एमाले त्यागेर राप्रपा गए ओली

झापाको कनकाईमा टिकट पाउन एमाले त्यागेर राप्रपा गए ओली


झापाको कनकाई नगरपालिकामा एक हप्ता अघिसम्म एमालेका नेता रहेका श्यामसुन्दर ओली स्थानीय तहको निर्वाचनको उम्मेदवारी दिने दिन राप्रपामा प्रवेश गरे। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग निकट रहेका श्यामसुन्दरलाई उनको पार्टी एमालेले टिकट दिएन। एमाले अध्यक्ष केपी ओलीको नातेदारसमेत रहेका श्यामसुन्दरलाई एमालेले टिकट नदिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्न हल्दिबारीस्थित लिङ्देनको घर गोलधापमा पुगे । 

श्यामसुन्दरलाई लिङ्देनले राप्रपामा प्रवेश गराई चुनाव लड्न टिकट दिए। लोकतन्त्र, सुशासन, राष्ट्रियता र विकासको मूल नारा लिएर वैकल्पिक शक्तिको रूपमा उदाएको दाबी गर्ने राप्रपाबाट कनकाई नगर प्रमुख पदमा श्यामसुन्दर उम्मेदवार बनेका छन्। देवीप्रसाद ओली (दाताराम)बाट समाजसेवा र राजनीतिप्रतिको लगाव उनमा देखिन्छ। 

२०५३ सालमा एमाले नेता युक्त भेटवालको चुनावी अभियानमा  सरिक भएर कम्युनिष्ट राजनीतिको यात्रा सुरु गरेका ओलीले केही दिन अघिसम्म एमालेमै रहेर आफ्नो राजनीतिक कर्मलाई निरन्तरता दिएका थिए । एमालेको आन्तरिक गुटबन्दीका कारण उनलाई नगर प्रमुखको टिकटबाट वञ्चित गरिएको उनी बताउँछन् । 

उनी जनचाहना बमोजिम राजनीतिमा आएको र जनसेवा नै आफ्नो अभिष्ट भएको दाबी गर्छन्। नेपाल विद्युत प्राधिकरणमा लामो समय काम गरेका ओलीले कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका तीनवटा वडामा विद्युत् विस्तारमा मुख्य भूमिका खेलेर उज्यालो नगरीको अभियानअघि बढाइरहेका छन् । 

जनताको जीवनशैलीलाई माथिल्लो तहमा लैजाने र मुलुकमा शान्ति अमनचयन कायम गर्ने लक्ष्य रहेको श्यामसुन्दर बताउँछन्। भ्रष्टाचारविरुद्ध उनले राप्रपाबाट कनकाई नगरको प्रमुखमा उम्मेदवारी दिएका हुन्। ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो,’ भन्ने राप्रपाका केन्द्रीय अध्यक्षको लाइनमा छन् उनी । 

कनकाई नगरमा व्याप्त सेटिङ मिलाएर राज्यकोषको दोहन गर्ने र जनताले तिरेको करको दुरुपयोग गर्ने परिपाटीका विरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ। 

उनी भन्छन्, ‘मेयरमा उम्मेदवारी दिएका बखत मेरो मन र मस्तिष्कमा युवाहरूकै चित्र थियो ।’ राप्रपाको राष्ट्रिय घोषणापत्रको आधारमा स्थानीय विषयवस्तु र जनसरोकारका सवाललाई समेटी स्थानीय घोषणापत्र बनाइएको छ र त्यसकै आधारमा आफू चल्ने र पार्टी पंक्तिलाई साथमा लिएर अघि बढ्ने उनको प्रतिबद्धता छ। 

Logo