रुपन्देहीमा सत्ता गठबन्धनको केही प्रभाव छैन, पहिलेभन्दा बढी पालिकामा जित्छाैं : एमाले अध्यक्ष केसी

रुपन्देहीमा सत्ता गठबन्धनको केही प्रभाव छैन, पहिलेभन्दा बढी पालिकामा जित्छाैं : एमाले अध्यक्ष केसी


स्थानीय तहको निर्वाचन नजिकै आइरहँदा रुपन्देहीमा दलहरुले चुनावी गतिविधि तीव्र बनाएका छन्। रुपन्देहीको कुरा गर्ने हो भने गत निर्वाचनमा जिल्लाका १६ वटा स्थानीय तहमध्ये आठ वटामा एमालेले एक्लै जित हासिल गरेको थियो। अहिले एमालेको जिल्ला कमिटीको नेतृत्व युवा नेता तेजेन्द्र केसीले गरिरहेका छन्। जिल्ला अध्यक्ष केसीले अहिले सिंगो रुपन्देही जिल्लाको चुनावी अभियानलाई अगाडि बढाइरहेका छन् ।
 
यसपटकको स्थानीय निर्वाचन एमालेका लागि कतिको जटिल र चुनौतीपूर्ण छ भन्ने विषयमा एमाले रुपन्देहीका अध्यक्ष केसीसँग गरिएको कुराकानी:

स्थानीय तहको चुनावी अभियानमा हुनुहुन्छ । समग्र रुपन्देहीको अवस्था कस्तो पाउनु भएको छ ?

–नेकपा एमालेको समग्र जिल्लाको अवस्था भनेको अत्यन्त राम्रो छ। हामी स्थानीय तहको चुनावमा अहिले १६ वटै पालिकामा हाम्रा निर्वाचन परिचालन कमिटी तथा त्यसभन्दा माथि निर्देशन कमिटी, आर्थिक कमिटी, स्वयंसेवक परिचालन कमिटीलगायत चुनाव केन्द्रित विभिन्न कमिटीहरु बनाएका छाैं। र हामी युद्धस्तरमा चुनावी तयारीमा जुटेका छौं। जिल्लाका १६ वटै पालिकामा एमालेको उत्साहजनक सहभागिता छ। अहिले हाम्रा उम्मेदवारहरु घरदैलो कार्यक्रममा हुनुहुन्छ। सबै कमिटीहरुले आफ्नो जिम्मेवारीको काम अगाडि बढाइरहेका छन्। 

गएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका आठवटा पालिका जितेको थियो । अहिले त्यो कायम रहन्छ ?

–स्वाभाविक छ कि हामी पहिलेको चुनावमा भन्दा अहिलेको चुनावमा विजय हासिल गर्ने स्थानीय तहको संख्या बढाउँछौं। अहिले खासगरी दक्षिणतिर एमालेको प्रभाव अत्यन्तै उत्साहजनक देखिएको छ र हामी चाहिं दक्षिणी क्षेत्रमा समेत विजय हासिल गर्ने योजनाका साथ अगाडि बढेका छौं । यसअघि जितेका स्थानीय तहमा त हामीले स्वाभाविकरुपले अत्यधिक मतका साथ विजय हासिल गर्छौं । र हामी थप ठाउँमा समेत विजय हासिल गरेर हामी पहिलेको चुनावमा भन्दा राम्रो परिणाम ल्याउँछौं । अहिले एमालेमा धेरै मानिसहरु प्रवेश गरेको अवस्था छ। त्यो प्रवेशका कारणले पनि एमालेको अवस्था सुदृढ रहेको देखाउँछ । र सबै पार्टीभन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित छ । 

पार्टीभित्र असन्तुष्टि पनि त होला नि होइन ?

–असन्तुष्टि हुनु स्वाभिक हो । असन्तुष्टिहरुलाई हामीले व्यवस्थापन गरिसकेका छौं। नीतिगत रुपमा, सैद्धान्तिकरुपमा असहमति केही थिएनन् । कतिपय साथीहरुले जिम्मेवारी लिने कुरामा केही ब्यक्तिगत असन्तुष्टि थियो। हामीसँग एउटा सीमा छ। त्यो सीमाभन्दा बाहिर हामी जान मिल्दैन । एउटा पालिकामा एउटा मेयर हुन्छ, एउटा उपमेयर हुन्छ । त्यहाँ आकांक्षी धेरै हुन सक्छन् । त्यसमध्येको एउटा निर्णय पार्टीले गर्ने हो। पार्टीले फैसला गरिसकेको छ। त्यो फैसलालाई सबै साथीहरुले बोकेर हिंड्नुभएको छ। भएका कमीकमजोरीहरुलाई हामी चुनावपछि समीक्षा गर्नेछौं । जहाँ कमी कमजोरी भएका छन्, ती कमीकमजोरीलाई पार्टीले आत्मसाथ गर्नेछ। जो उम्मेदवारका आकांक्षी हुनुहुन्थ्यो । उहाँहरु सबै पार्टी काममा लागि सक्नुभएको छ। 

गत स्थानीय तहको चुनाव भन्दा धेरै स्थानमा जित्छौं भन्नुभयो । जित्ने आधारहरु चाहिं के छन् ?

–हामीसँग प्रशस्त एजेण्डा छन् । पार्टीका अध्यक्ष केपी ओलीले सुरु गर्नुभएका विकास आयोजना तथा कार्यक्रमहरु स्थानीय तहमा एमालेको नेतृत्व नहुने हो भने अलपत्र पर्छन्। हामीले जितेका ठाउँमा विकासको जुन जग बसाल्ने काम भएको छ, त्यो जग हल्लिन्छ। त्यसकारण हाम्रा सबै जनतासित गाँसिएका धेरै एजेण्डाहरु छन् । त्यसकारण एमालेको विजय अनिवार्य छ।

जिल्लामा पार्टीको नेतृत्वमा बसेर काम गर्दा चुनावमा देखिने सफलता वा असफलताले तपाईंको भूमिकाको पनि मूल्यांकन होला नै हैन ?

–हाम्रो पार्टी संस्थागत ढंगले अगाडि बढ्दै आएको छ । नेतृत्व गौण कुरा हो । हामीले यसलाई व्यक्तिगत भन्दा पनि संस्थागत ढंगले सोचेर मूल्यांकन गर्ने परिपाटीको विकास गर्नुपर्छ। नेकपा एमालेको रुपन्देही जिल्लामा जुन सांगठनिक सञ्जाल छ। एमालेका जति कार्यकर्ता, समर्थक, शुभेच्छुकहरु छन् । यी सबै कारणले गर्दा हामी रुपन्देहीमा अत्यधिक मतले जित्छौं । यहाँ चाहिं हाम्रो पार्टीका थुप्रै नेताहरु हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा जोडिनुभएका हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेल यसै जिल्लाको हुनुहुन्छ । उहाँहरुले समृद्धिको अभियानलाई अगाडि बढाउनुभएको छ। रुपन्देही जिल्लालाई विकासको मोडल बनाउनुभएको छ। विकास कस्तो हुन्छ रुपन्देही जिल्लामा गएर हेर्नुपर्छ भनेर अन्तका मानिसहरुले भन्ने गर्छन्। यसको नेतृत्व नेकपा एमालेले गरेको छ। यहाँका जनताले त्यो कुरा बुझेका छन्। यसकारण रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेको शानदार ढंगले जित हासिल हुन्छ।

देशव्यापी सत्तारुढ गठबन्धन्धनविरुद्ध धेरैजसो ठाउँमा एमाले एक्लै छ । रुपन्देहीमा गठबन्धनको चुनौती कस्तो छ ?

–विश्वमै हेर्ने हो भने सत्ताको विपक्षमा प्रतिपक्षी पार्टी हुन्छन् । तर नेपालमा प्रमुख प्रतिपक्षी दललाई उक्त दल बलियो भयो, शक्तिशाली भयो भनेर सत्ताको गठबन्धन गरिएको छ। यो बडो अचम्मको परिघटना छ । त्यसकारण रुपन्देही जिल्लामा सत्ता गठबन्धनको केही प्रभाव छैन । सत्ता गठबन्धन आफैंभित्र असन्तुष्टि, निराशा, कुण्ठा बोकेर हिंडिरहेको छ। एमालेको पंक्ति सही दिशामा अगाडि बढिरहेको छ ।

तपाईं पनि बुटवलमा मेयरको आकांक्षी हुनुहुन्थ्यो । तपाईंका पनि केही असन्तुष्टि छन् कि ?

–कुनै असन्तुष्टि छैन । नेकपा एमालेको संस्थागत  फैसलालाई मैले जहिले पनि बोकेर हिंड्ने गरेको छु । एमालेको नीति र नेतृत्वप्रति सधैंभरी उत्तरदायी भएर पार्टीका हरेक फैसलालाई बोकेर हिंड्ने मान्छे हुँ । मलाई त्यसमा कुनै पनि असन्तुष्टि छैन । म मात्रै होइन, कुनै पनि आकांक्षी साथीहरुले चित्त दुःखाएर हिंड्नुभएको छैन । सबै चुनावी अभियानमा जोडिनुभएको छ। यो नै हाम्रो विजयको आधार हो ।

Logo