देउवा बसेकै होटेलमा पुगेर पनि जगन्नाथले देउवालाई भेटेनन्

देउवा बसेकै होटेलमा पुगेर पनि जगन्नाथले देउवालाई भेटेनन्


चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई भेट्नै अस्वीकार गरेका छन् । 

सभापति देउवा गठबन्धनको आज हुने आमसभालाई सम्वोधन गर्न हिँजै चितवन पुगेका छन् । उनले बागी उम्मेदवार पौडेललाई फकाउने मनसायले भेट्न खोजेका थिए । तर  गएराति चितवनमा बास बसेका प्रधानमन्त्री देउवाको प्रयास असफल भएको छ।

पौडेलले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै भेटे। रामचन्द्रसँगको भेटवार्तापछि जगन्नाथ पौडेल देउवालाई नभेटी फर्किएका हुन् । भरतपुरको होटल सिराँगचुलीमा भएको भेटवार्ताका क्रममा वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । उनको प्रस्ताव अस्वीकार गरेको जगन्नाथले बताए । 

जगन्नाथले कांग्रेस बचाउने अभियानमा आफू एक्लैको नरहेको र धेरैको साथ पाएकाले पछाडि फर्किने अवस्था नरहेको बताए । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री एवं सभापति देउवाले भेट्न चाहेको बताए पनि उनीहरू घरदैलोमा जानुपर्ने भन्दै त्यहाँबाट निस्किएका थिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालकी छोरी रेनु उम्मेदवार बनेको भरतपुरमा पौडेलको उम्मेदवारीले गठबन्धनमै हलचल ल्याएको छ । उनलाई फकाउन यसअघि गृहमन्त्रीदेखि राज्यमन्त्री नै लागेपनि असफल भएका थिए । 

 

Logo