कृषिमन्त्री भुसालले मागे माफी, २ कम्पनीको १० करोड धरौती जफत (भिडियाेसहित)

कृषिमन्त्री भुसालले मागे माफी, २ कम्पनीको १० करोड धरौती जफत (भिडियाेसहित)


काठमाडौं । तोकिएको समयमा मल आउन नसकेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले क्षमा माग्दै दुःख व्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले समयमै मल ल्याउन नसकिएको भन्दै दुःख व्यक्त गरेका हुन् । उनले आगामि दिनमा यस्तो गल्ती दोहोरिन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । साथै मल आयात गर्न जिम्मा दिएको दुई वटा सप्लायर्स कम्पनीको सम्झौता रद्द गरी कारवाही गरिएको समेत बताए । जसमध्ये शैलुङ इन्टरप्राइजेज प्रा.लि. र होनिको मल्टिपल प्रा.लि. रहेको छ । कृषि सामाग्री कम्पनीले २०७७ वैशाख १२ गते (२०२० अप्रिल २४) शैलुङ इन्टरप्राइजेजसँग २५ हजार मेट्रिक टन र वैशाख १५ गते (२०२० अप्रिल २७ ) होनिको मल्टिपलसँग २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता गरेको थियो ।

दुबै सप्लायर्सलाई २०७७ साउन ८ गते (२०२० जुलाई २३) भित्रमा तोकिएको मल अयात गरिसक्नुपर्ने समय सीमा तोकिएको थियो । त्यसपछि पनि २५ दिन थप गरिएकोमा उक्त मितिसम्म पनि मल सिपमेन्ट हुन नसकेपछि सम्झौता रद्द भएको मन्त्री भुसालले बताए । उलले मल आयात गर्न नसक्ने दुबै सप्लायर्सको करिब १० करोड रुपैयाँ जफत गरिएको जानकारी दिए । त्यस्तै मन्त्री भुसालले अहिले ३२ हजार ५ सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भइरहेको समेत बताए ।

ढिलो गरी मल आयात हुँदा आपूर्तिमा समस्या देखिएपनि विस्तारै सहज हुँदै जाने उनको विश्वास छ । यसबाहेक धान र गहुँको लागि आवश्यक हुन सक्ने युरिया बंगलादेश सरकारसँग ५० हजार मेट्रिकटन पछि फर्काउने गरी पैंचो मागिएको समेत बताए । प्रधानमन्त्री स्तरबाट अनुमति पाइसकेकाले मल पैंचो ल्याउने प्रक्रिया अगाडि बढिसकेको मन्त्री भुसालको भनाइ छ । पैंचो ल्याउने सम्बन्धमा दुई मुलुकका प्रधानमन्त्री बीच समझादारी समेत भइसकेकाले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको उनले बताए । अबको १५ दिनभित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम गरिएको मन्त्री भुसालले जानकारी दिए ।

त्यस्तैगरी नेपालमै युरिया मल उत्पादनका लागि कारखाना खोल्ने सम्बन्धमा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रासायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरी काम आरम्भ भइसकेको पनि मन्त्री भुसालले बताए ।

Logo