स्थानीय तह निर्वाचनका दश भाग्यमानी व्यक्ती, जो १ मतले जित्न सफल भए (भिडियाे)

स्थानीय तह निर्वाचनका दश भाग्यमानी व्यक्ती, जो १ मतले जित्न सफल भए (भिडियाे)


स्थानीय तहको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । यसबीच विभिन्न प्रकारका रोचक परिणामहरू पनि सार्वजनिक भइरहेका छन् । हामीले हिजोको अंकमा १० रोचक मत परिणामको विषयमा चर्चा गरेका थियौँ । आज हामी १ मतले विजयी भएका १० भाग्यमानी व्यक्तिको विषयमा चर्चा गर्नेछौँ ।

१. ताप्लेजुङको सिदिङ्वा गाउँपालिका

पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा एक मतको अन्तरले हार–जीत भएको छ । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार कृष्णकुमारी कडरिया १ मतले विजयी भएकी छन् । पालिकाका लागी उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उनका निकटतम प्रतिस्पर्धी जीवन कुमार चाम्लिङले २३७५ मत पाउँदा कडरियाले २३७६ पाएका छन् ।

२. काभ्रेको तेमाल गाउँपालिका १

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार इन्द्र अधिकारी १ मतले विजयी भएका छन् । उनले नेपाली कांग्रेसका कालदास तामाङलाई पराजित गरेका हुन् । तामाङले ५३० मत पाउँदा अधिकारीले ५ सय ३१ मत पाएका छन् ।

३. काभ्रेको खानीखोला गाउँपालिका १

काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका सन्तमान थिङ र एमालेका आसाराम गोलेबीच १ मतले हार–जीत भएको छ । थिङले ५ सय ४८ मत पाउँदा गोलेले ५ सय ४७ मत प्राप्त गर्दै पराजित भएका हुन् ।

४. काभ्रेको चौरीदेउराली गाउँपालिका १

काभ्रे कै चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा पनि नेपाली कांग्रेसका सुशील लामा र माओवादी केन्द्रका राजु आलेकाबीच पनि १ मतले हार–जीत भएको छ । कांग्रेसका लामाले ४ सय २ मत पाउँदा माओवादीका आलेले ४ सय १ मत पाएका हुन् ।

५. अर्घाखाँचीको मालारानी गाउँपालिका ६

अर्घाखाँचीको मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्षमा पनि एक मतले हार–जीत भएको छ । एमालेका नारायणप्रसाद अर्याल ले ८ सय ४९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उदयबहादुर पुन मगरले ८ सय ४८ मत पाएका छन् ।

६. पर्साको विन्दवासिनी गाउँपालिका ३

काँग्रेसका जयप्रकाश चौरसिया पर्साको विन्दवासिनी गाउँपालिका ३ को अध्यक्षमा १ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हनिफ मियाँ जोलाहाले १ हजार १ सय ८४ मत पाउँदा उनले १ हजार १ सय ८५ मत पाएर विजयी भएका हुन् ।

७. गुल्मीको कालिगण्डकी गाउँपालिका २

गुल्मीको कालिगण्डकी गाउँपालिका २ मा माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई एक मतले पराजित गर्दै कांग्रेसका रेशमराज न्यौपाने एक मतले वडाध्यक्षमा विजयी भएका छन् । न्यौपानेले ७ सय ५६ मत पाउँदा न्यौपाने ७ सय ५५ मत पाएका हुन् ।

८. महोत्तरीको महोत्तरी गाउँपालिका १

महोत्तरीको महोत्तरी गाउँपालिका–१ मा एमालेका मोहम्मद अनामुल राइनलाई एक मतले पराजित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी १ मतले विजयी भएका छन् । चौधरीले ३ सय ६६ मत पाउँदा राइनले ३ सय ६५ मत ल्याएका छन् ।

९. महोत्तरीको बर्दिबास नगरपालिका १४

महोत्तरीको बर्दिबास नगरपालिका १४ मा कांग्रेसका भरत हमाल १ मतले पारिजात गर्दै स्वतन्त्र उम्मेदवार विजय कुमार विजयी भएका छन् । महतोले ५ सय ८ मत पाउँदा हमालले ५ सय ७ मत पाएका हुन् ।

१०. महोत्तरीको बर्दिबास नगरपालिका ७

बर्दिबास नगरपालिकाको वडा नम्बर ७ मा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भएका छन् । विजयी भएका रामस्वगारथ यादवले ७ सय २७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरीले ७ सय २६ मत पाएका हुन् ।

 

Logo