बङ्गलादेशको मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, ३५ जना गम्भिर

बङ्गलादेशको मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, ३५ जना गम्भिर


ढाका ।

बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् । नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका समय एक्कासी विस्फोट हुँदा त्यहाँबाट आगोको ठूलो ज्वाला निस्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

विरामीको उपचारमा सम्लग्न अस्पतालका संयोजक लाल सेनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्ष सम्ममा रहेका छन् । स्थानीय समय अनुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो ।

अधिकारीहरुले ग्यास चुहावटको कारण भुईँ तलामा रहेका एयर कन्डीसनरमा आगलागी भएपछि मस्जिदको अन्यभागमा उक्त आगो फैलिएको बताइएको छ । घटना भएको बेला मस्जिदमा झण्डै एक सय भक्तजनहरु प्रार्थनाका लागि उपस्थित रहेका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षास्रोतले बताएको छ ।रासस

Logo