नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान रुबिना क्षेत्री भन्छिन्, ‘खाली हात फर्किन्नौँ’

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान रुबिना क्षेत्री भन्छिन्, ‘खाली हात फर्किन्नौँ’


कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा एसिया कप छनोट हुने लक्ष्यसाथ नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ ।

पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने विश्वास व्यक्त गरे । मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले नेपाली वर्षा यामलाई छल्दै अभ्यास गरिरहेको छ । 

मौसम प्रतिकुल भए पनि टोलीले अनुकूलता अनुसार अभ्यासलाई तीव्रता दिइरहेको छ । पछिल्ला पटक सम्पन्न युगाण्डासँगको शृङ्खलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लीन छ । सोही शृङ्खलापछि टोलीले मुख्यतया फिटनेस र फिल्डिङमा वर्क आउट गरिरहेको छ । 

मुख्य प्रशिक्षक जगत टमाटाले मौसम चुनौती भए पनि अभ्यासलाई निरन्तरता दिइरहेको बताए । फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको उनले बताए । ‘युगाण्डासँगको शृङ्खलापछि एक दिन बिराएरले हामीले अभ्यासलाई निरन्तरता दिइरहेका छौँ । फिटनेस र फिल्डिङमा भएको समस्यामा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौँ', उनले भने, 'मौसम चुनौती भए पनि पानी नपर्दा मैदान उत्रिएर अभ्यास गरेका छौँ भने वर्षा हुँदा हामीले इन्डोरमा अभ्यास गरेका छौ । यति धेरै मिहिनेत हामीले नतिजाका लागि गरिरहेका छौँ ।  पाँच–पाँच घण्टा सधैँ अभ्यास गरिरहेका छौँ । जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य टिममा रहेको छ । यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्न सकेका छौँ ।’

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियामा हुँदै छ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह (ए)मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् । 

सहभागी टोलीमध्ये नेपाललाई चुनौती दिने हङकङ भएको प्रशिक्षक टमाटाको बुझाई छ । सन्तुलित टोली नेपाली टोली बलियो पक्ष भएकाले प्रशिक्षक टमाटाले च्याम्पियन हुने विश्वास व्यक्त गर्छन् । उनले भने, ‘टोलीमा स्पिनरको अवस्था सन्तुलित छ । सँगै हामीसँग फास्ट बलर पनि राम्रो छ । यद्यपि वर्क आउट गर्न बाँकी छ । एक दुई दिनमा हामी फास्ट बलरमा काम गर्छौँ, यु–१९ खेलाडीमा टोलीमा समावेश गरेको छौँ । मलेसियामा हुने खेलमा फरक फरक पिच भएको भन्दै सोही अनुसार तयारी गरिरहेको छौँ । लक्ष्य भनेको च्याम्पियन बनेर छनोट हुने हो ।’

केही साताअघि सिनियर टोलीबाट युगाण्डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनन् । यद्यपि क्यानले उनलाई उजागर गर्न सिनियर टोलीसँग अभ्यासको मौका दिइरहेको छ । आवश्यक पर्ने कागजात नपुगेको भन्दै उनी हाल टोली भन्दा बाहिर छिन् । 

युगाण्डासँगको शृङ्खलाले नेपाली टोलीको स्तर छुट्याइदिएको भन्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले सोही कमी कमजोरीमा अभ्यास गरेको बताइन् । 'युगाण्डासँगको खेलपछि हाम्रो स्तर देखियो । कमीकमजोरी थाहा पायौँ । त्यही कमीकमजोरीलाई सुधार गरिरहेका छौँ । त्यसका लागि हामीसँग अहिले ट्रेनर पनि हुनुहुन्छ । आजको मितिसम्म पनि हामीले फिटनेसमा ध्यान दिइरहेका छौँ', उनले भनिन् 'आगामी खेलमा फिटनेसको समस्या कभरअप हुनेमा म विश्वस्त छु । सबैले आ–आफ्नो ठाउँबाट खेल सुधारका लागि प्रयास गरिरहनुभएको छ । साथै स्किल र ब्याटिङ पक्षमा सुधारका लागि टोलीले मिहिनेत गरिरहेको छ । साथै मैदानको मिहिनेतले पनि टोलीका सदस्यमा गम्भीरता आएको महसुस गरेको छु ।’

कप्तान क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौती पूर्ण भएको बताइन् । रुबिनाले नेपाली महिला टोली ट्रफी नेपाल ल्याउन नसकेकोमा आफूमा पीडा भएको भन्दै ट्रफी लिएर स्वदेश फर्किने प्रतिबद्धता जनाइन् । त्यसका लागि खेलाडीले गरेको र कमी कमजोरी सुधार गरेको पनि उनको भनाई छ । उनले भनिन्, ‘चुनौती अवश्य छ । वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौँ । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ । तर हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको पिडा छ । कुनै समय धेरै मिहिनेत गर्दा के नमिलेको के नमिलिकेको हुन्छ । तर यसपालि सबै खेलाडीको मिहिनेत देख्दा हामीले राम्रो गर्छौँ भन्ने विश्वास लागेको छ । टिम खाली हात नफर्किने गरी प्रतिस्पर्धा गर्नुपर्नेछ ।'

समूहको प्रतिस्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको प्रतिस्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन् । 

प्रतिस्पर्धामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामना गर्दा तेस्रो खेल जुन २० मा बहराइनविरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

Logo