सीमामा रोकिएका ७५ टयाङ्कर र ४८ ग्यास बुलेट नेपाल भित्रिए

सीमामा रोकिएका ७५ टयाङ्कर र ४८ ग्यास बुलेट नेपाल भित्रिए


शनिबारदेखि सीमामा रोकिएका पेट्रोलियम पदार्थको टयाङ्कर सोमबार अबेर भैरहवा भन्सार कार्यालय भित्रिएका छन्। भारतीय भन्सार कार्यालयले एडी कोड नभएको भन्दै ३ दिनदेखि रोकेको टयाङ्कर म्यानुअलरुपमा कोड प्रविष्ट गरेपछि साँझ सवा ७ बजे नेपाल आएका हुन्।

भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्दा नेपाल आउने पेट्रोलियम पदार्थ शनिबारदेखि सीमामा रोकिएका थिए। भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि तेल आयात हुन सकेको थिएन। भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नु पर्छ, शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड नराखिदिँदा नेपालतर्फ पेट्रोलको संचिति घटेको थियो।

नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले भारतीय भन्सार कार्यालयमा प्रतिनिधि पठाएर म्यानुअलरुपमा काम अगाडि बढाएसँगै रोकिएका टयाङ्कर नेपाल आएको कार्यालय प्रमुख नव विनोद पोखरेलले जानकारी दिए। तत्कालका लागि आइओसीले म्यानुअल गरिदिनका लागि भारतीय भन्सारलाई अनुरोध गरेपछि हाललाई नेपाल आउने पेट्रोलियम पदार्थको अवरोध हटेको छ। आइओसीले छिटै आफ्नो सिस्टम अपडेट गरेर अनलाइन मार्फत् आइसिई गेट पोर्टलमा बैंक, एडी कोड, खाता नम्बर, लोकेशनसहितको डाटा प्रविष्ट गर्छ।

भारतमा रोकिएको डिजेल, पेट्रोलका ७५ वटा टयाङ्कर र ग्यासका ४८ वटा बुलेट नेपाल आएका छन्। भैरहवा भन्सार कार्यालयले भन्सार प्रक्रिया पुर्याई तत्कालै ट्याङ्करहरु गन्तव्यमा पठाउने भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताए।

'आइओसी सिस्टममा नजाँदा समस्या आएको हो, भन्सारले जति सक्दो छिटो आएका ट्याङ्कर भन्सार गरेर पठाउँछ', उनले भने । 

नेपालमा आइओसि मार्फत् तेल आउने गर्छ, भारतीय आइसिइ गेट पोर्टलमा बैंक, एडी कोड, खाता नम्बर, लोकेशनसहितको डाटा प्रविष्ट गर्नुपर्छ । जसका लागि अनिवार्यरुपमा चालु रहेको खाताको पासवुकको फोटो र खाताबाहकको बैंकले जारी गरेको प्रमाण पत्र चाहिन्छ। यी प्रक्रिया अपनाएर आधिकारिकरुपमा दर्ता र अध्यावधिक गर्नुपर्छ। 

३ दिन तेल आयात रोकिँदा नेपाल तर्फ अभाव हुन थालेको थियो। डिजेलको भण्डारण क्षमताभन्दा पेट्रोलको कम भएकोले बजारमा पेट्रोलको अभाव सृजना भइसकेको थियो। भन्सारबाट आएको टयाङ्कर तत्कालै प्रादेशिक कार्यालयले सम्बन्धित पेट्रोल पम्पमा राति नै पठाउने व्यवस्था मिलाएको छ। 

Logo