एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित


मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर मात्र ८२  रन बनाउन सक्यो ।
कुवेतका लागि प्रियादा मुरालीले ३१ रनको योगदान गरिन् । त्यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् । त्यस्तै अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिइन्  ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो । नेपालका लागि कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै इन्दु बर्माले २८ रन बनाउँदा ज्योती पाण्डेले १५ रन जोडिन् ।

नेपालकी विन्दु रावलले ११ रनको योगदान गरिन् । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एक एक विकेट लिइन् ।
जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।  समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

Logo