काठमाडौं,
आगामी आर्थिक वर्षमा सरकारको धान उत्पादन लक्ष्य पूरा हुन कठिन छ । समयमा धान रोपाइँ हुन नसक्नु, अनुकूल मौसम नहुनु र पर्याप्त मात्रामा किसानलाई रासायनिक मल नहुँदा धान उत्पादनको लक्ष्य भेट्न मुस्किल भएको हो ।
सरकारले आगामी आर्थिक वर्षमा ७० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन चालू आर्थिक वर्षको तुलनामा १५ लाख मेट्रिक टन बढी धान उत्पादन गर्नुपर्छ । तर, यस वर्षको मौसम र रासायनिक मल अभावका कारण लक्ष्य भेट्न मुस्किल हुने धान विज्ञको भनाइ छ ।
चालू आर्थिक वर्ष २०७५÷७६ मा हालसम्मकै बढी अर्थात् ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ र रासायनिक मलको व्यवस्था राम्रो हुँदा सो वर्ष धान उत्पादन बढी भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा युवकध्वज जीसीले यस वर्ष धान रोपाइँका लागि अनूकुल मौसम नहुनु र रासायनिक मल पनि आवश्यक मात्रामा उपलब्ध नहुनुले सरकारले लिएको लक्ष्य भेट्न मुस्किल हुने बताए ।
सचिव जीसीका अनुसार कुल धान रोपाइँ हुने जमिनमध्ये ७५ प्रतिशतमा आकासे पानीले रोपाइँ गर्नुपर्छ । जम्मा २५ प्रतिशत धान रोपाइँ मात्र सिँचाइबाट हुन्छ । पर्याप्त सिँचाइको विकास नहुँदा मौसमले साथ नदिई किसान मर्कामा पर्ने गरेका छन् ।
वरिष्ठ धान विशेषज्ञ भोलामानसिंह बस्नेतले धान उत्पादन बढाउन गुणस्तरीय बीउ, सिँचाइको उचित व्यवस्थापन र आवश्यकता अनुसार रासायनिक वा जैविक मलको प्रयोग हुनुपर्ने बताए । उनले भने, ‘परम्परागत तरिकाभन्दा आधुनिक प्रविधि र वैज्ञानिक तरिकाले खेती गर्ने हो भने अहिलेको भन्दा धान उत्पादनमा उल्लेखनीय वृद्धि हुनेछ । परम्परागत तरिकाले खेती गर्दा प्रतिहेक्टर करिब ३ टन उत्पादन हुन्छ भने आधुनिक प्रविधि र वैज्ञानिक तरिकाले खेती गर्दा प्रतिहेक्टर १० टनसम्म धान उत्पादन गर्न सकिन्छ ।’
नेपालमा कुल १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर धान खेती गर्ने योग्य जमिन छ । प्रतिहेक्टर १० टनको दरले उत्पादन गर्ने हो भने नेपाल धानमा आत्मनिर्भर हुन्छ ।
राजधानीबाट
प्रकाशित: १५ असार २०७६ ०७:०६ आइतबार