विश्वविद्यालयमा ताला लगाउन नदिन सरकार सचेत छ : शिक्षामन्त्री पौडेल

विश्वविद्यालयमा ताला लगाउन नदिन सरकार सचेत छ : शिक्षामन्त्री पौडेल


 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन् । मन्त्री पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम सधैँका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरूले पठनपाठनसम्बन्धी उठाएका अन्य मागहरूको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताए ।  

आज सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरूले राखेको धारणा जायज रहेको प्रतिक्रियासमेत दिए । उनले भने, ‘विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमति र संवादको माध्यमबाट समाधान गर्ने हो । चाबी लगाउने, तालाबन्दी गर्ने, बाधा पुर्‍याउने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई बाधा पुर्‍याउने कुरा राम्रो हुँदैन । विश्वविद्यालयहरूलाई परीक्षा प्रणाली, परीक्षा निकाल्ने समय अवधि र त्यसलाई नियमन र नियमित गर्नका निम्ति हामी उहाँहरूसँग गम्भीर छलफल, संवाद र कुराकानीमा छौँ । लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि खुलाइएको कुरा सदनबाट जानकारी गराउन चाहन्छु ।’

मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटक–पटक दोहोर्‍याए । 
 

Logo