जनकपुरधाम,
जनकपुरधामका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा दोषी ठहर गर्दै पूर्वराज्यमन्त्री सञ्जय साह टकलालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ । यसअघि अदालतले पाँच जनाको ज्यान जाने गरी भएको जनकपुरधामको रामानन्द चोक बमकाण्डमा साहलाई जन्मकैदको फैसला सजाय सुनाएको थियो ।
सिंहानिया हत्याको करिब १० वर्षपछि १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको थियो । मुद्दाको सुनवाई गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वराज्यमन्त्री साहसहित दुई जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ । लामाले सञ्जयले भनेपछि आफूले सिंहानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए । साह अहिले ललितपुरको नख्खु कारागारमा छन् भने लामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन् ।
यसैगरी साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरिएको हो ।
राजधानीबाट
प्रकाशित: १८ असार २०७६ ०५:४४ बुधबार