बाँकेमा हट्यो रगत अभाव

बाँकेमा हट्यो रगत अभाव


बाँकेमा केही समयअघि भएको रगतको अभावको समस्या अहिले हटेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो । 

'हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको संख्या बढेको छ । अहिले रगत अभाव पनि टरेको छ,' जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने । उनका अनुसार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ ।

रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक कम भएका कारण रगतको माग पनि घटेको श्रेष्ठले बताए । 

यसै गरी रगत अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयंसेवकको संख्या बढाउन बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ । जिल्लामा रक्त संकलनमा बढोत्तरी भएपछि रगत अभावमा बिरामीका आफन्त भौँतारिनुपर्ने र बिरामीको अकालमै ज्यान जाने अवस्थाको अन्त्य भएको छ ।

रेडक्रस बाँकेका अध्यक्ष गोवर्द्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा संकलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा प्रयोग हुने गरेको छ । 

Logo