जसपा विवाद : बाबुराम भट्टराई र उपेन्द्र यादवले बोलाए छुट्टाछुट्टै बैठक

जसपा विवाद : बाबुराम भट्टराई र उपेन्द्र यादवले बोलाए छुट्टाछुट्टै बैठक


जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय कार्यकारिणी समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

जसपा (बाबुराम पक्ष) का केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठका अनुसार बैठकको तयारी पुरा भएको छ । आज ११ बजेदेखि सुरु हुने बैठकका लागि केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौँ आइपुगेका छन् ।

यादव पक्षले बुधबार र बिहीबार वीरगन्जमा बैठक बोलाएका छन । यादव र भट्टराईबीच द्वन्द्व बढेपछि पार्टी विभाजनको मुखमा पुगेको छ । दुवै पक्षले आफूले बोलाएको बैठक आधिकारिक भएको दाबी गरेका छन् ।

यता भट्टराईले भने वैकल्पिक राजनीतिक आधार तत्त्व पहिल्याउन जरुरी रहेको बताएका छन । सकेसम्म जसपालाई रूपान्तरण गर्ने पक्षमा रहेको उनको भनाइ छ । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफ्नो पहल जारी रहेको र पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नभएको बताए ।

असार २८ र २९ मा बस्ने भट्टराई पक्षको विस्तारित बैठकले पार्टीमा एजेन्डासँगै नेतृत्वका आन्तरिक समस्यामाथि बृहत छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले बताए । २०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो ।

समाजवादी पार्टी २०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो । नेतृत्व प्रणाली समानुपातिक हुन नसकेको, पार्टी विधानअनुरूप नचलेको, अध्यक्षको एकलौटी कार्यशैली कायम रहेको लगायत विषयमा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले अहिले उत्कर्ष रूप लिएको हो ।
 
 

Logo