हुबहु प्रश्नपत्र बनाउने त्रिविका ४ जना शिक्षकलाई कारबाही

हुबहु प्रश्नपत्र बनाउने त्रिविका ४ जना शिक्षकलाई कारबाही


त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविले आज बिहीवार निकालेको विज्ञप्तिमा उल्लेख छ । 

त्रिविमा मानविकी सङ्कायले गएको जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्स र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यस्तै व्यवस्थापन सङ्कायको स्नातक तह बीबीए छैटौँं सेमेस्टरको यही असार २२ गते र असार २५ गतेको प्रश्नपत्र पनि हुबहु पाइएको छ ।

यस्तै मोर्डन नेपाल कलेजको तीन महिनाअघि सोधिएको प्रश्नपत्र असार २२ गतेको परीक्षामा र शङ्करदेव क्याम्पसले लिएको प्रिबोर्ड परीक्षामा सोधिएको प्रश्नपत्र यही असार २५ गते बीबीएलाई सोधिएको थियो । 

त्रिविमा मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्र पहिलो सेमेस्टर ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मिलेको सम्बन्धमा प्रश्नपत्र निर्माण कार्यमा संलग्न विज्ञलाई सचेत गराउने निर्णय त्रिवि परिषद्ले गरेको छ ।  

त्रिविले परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएका समस्या तथा कमजोरीको विस्तृत अध्ययन तथा छानबिन गरी परीक्षालाई थप व्यवस्थित र मर्यादित गर्न सुझाव दिन प्रा. डा. भोजराज अर्यालको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । 

 

Logo