३ कात्तिक २०७८ बुधबार

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतिय दबाब

काठमाडौं,

नेपालमा गएको चारदिनदेखि निरन्तर वर्षा भएपछि सप्तकोशीमा पानीको बहाव पनि उच्च हुँदै गएको छ । पानीको सतह वढेपछि अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । ३६ ढोका खोलिएसँगै भारतको बिहार समेत जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिएको बताइएको छ ।

निरन्तर वर्षा भइरहेको र अझै केहि दिन यस्तै सम्भावना भएपछि सप्तकोशीमा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

कोशीमा एक लाख ५० हजार क्यूसेक पानीको बहाव हुनु लाई खतरा संकेत मानिन्छ तर आज दिउसो सम्म दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव भइसकेको छ । यसरी पानीको सतहले सिमा नाघेपछि खोलिएका ढोकाहरु बन्द गर्न भारतले दवाव दिएको हो ।

यसैविच भारतीय पक्षले दशगजामा कृत्रिम तरिकाले बाँध बनाएर बाढीको पानी रोक्न खोज्दा त्यहाँको बाँध फुटेको छ । भारतीय पक्षले लालबकैया र बागमती नदीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेपछि रोकिएको पानीको बहावले बाँध फुटेको हो।

यता ३ दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।

त्यस्तै, बाढी पहिरोबाट फसेका तथा घाइते भएका ८३१ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बताए अनुसार १२ जना घाइतेको उपचार भइरहेको छ भने १७ जना वेपत्ता छन् ।

प्रकाशित: २८ असार २०७६ १७:३५ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी