विकास निर्माणका काममा एकताबद्ध होऔं : ऊर्जामन्त्री भुसाल

विकास निर्माणका काममा एकताबद्ध होऔं : ऊर्जामन्त्री भुसाल


 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘विकास निर्माणकार्यमा एउटै मनले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सधैँ जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।’ उनले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

ठेचोवासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवर्द्धन गरेर उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको हो ।’ रु ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायामका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।

सो अवसरमा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिए । उनले पार्कलाई २४सै घण्टा प्रयोग गर्न सकिने गरी सिसीटिभी र बिजुली बत्तीको उपयुक्त व्यवस्था गरिने बताए।

कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष जगत्बहादुर महर्जनले वडाको विकासमा सङ्घ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको बताए ।

Logo