चितवनमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

चितवनमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु


चितवन ।

जिल्लामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला रहेको बताइएको छ ।

ती पुरुष यही भदौ पाँच गते श्वासप्रश्वासमा समस्या भइ पुष्पाञ्जली अस्पतालमा भर्ना भएका थिए । उनलाई भदौ आठ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान १० वजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको कोभिड–१९ स्रोत व्यक्ति फिजिसन चिकित्सक सन्दिप पाण्डेका अनुसार उनको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै फोक्सोमा गम्भिर निमोनिया देखिएर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सोही अस्पतालमा उपचाररत अर्का एक जना सङ्क्रमितको अवस्था सामान्य रहेको छ । यस्तै कलेजमा उपचाररत वृद्धाको कोरानाले मृत्यु भएको छ । श्वासप्रश्वास सम्बन्धि समस्याका कारण भदौ सात गते कलेजमा उपचारका लागि आएकी महिलामा ९ गते सङक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

कलेजमा अहिले ४२ जना सङ्क्रमितको उपचार भइरहेको र ती मध्ये २० जनाको अवस्था जटिल रहेको उनले जानकारी दिए। कलेजमा रहेको प्रयोगशालामा हालसम्म ७ सय २७ नमूना परीक्षण गरिएकोमा १ सय ९ जनामा सङ्क्रमण देखिएको जनाइएको छ । यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । जिल्ला भित्रमा कोरोनाका कारण चारको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन मकवानपुरका रहेका छन् ।रासस

Logo