ककनीमा देखियो हैजा, चार जिल्लाका १२ पालिकामा ३६ संक्रमित

ककनीमा देखियो हैजा, चार जिल्लाका १२ पालिकामा ३६ संक्रमित


गएको असार ५ गतेदेखि काठमाडौंमा फैलिएको हैजाको संक्रमण अहिलेसम्म चार जिल्लामा देखिएकोे छ । काठमाडौं उपत्यकाका तीनसहित नुवाकोटको ककनीमा समेत हैजा संक्रमित भेटिएकाे छ ।

योसँगै यो वर्ष हैजा संक्रमितको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै १४ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा आठ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक–एक जनामा हैजा संक्रमण देखिएको छ ।

यस्तै, ललितपुरको ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एक जनामा हैजा पुष्टि भएको छ ।
भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक–एक जनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

हालसम्म परीक्षणका क्रममा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्र पिउन महाशाखाले अनुरोध गरेको छ ।

Logo