सांसद महतको ओली लक्षित व्यंग्य : ‘ शपथ खुवाउनेले एउटा र शपथ खानेले अर्को नगरौँ ’

सांसद महतको ओली लक्षित व्यंग्य : ‘ शपथ खुवाउनेले एउटा र शपथ खानेले अर्को नगरौँ ’


सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन् ।

 मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताए ।

उनले पूर्व प्रधानमन्त्री ओलीले शपथग्रहण लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरुको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताए । सांसद महतले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बीन्धत रहेकोले हास्यव्यंग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गरे । 

उनले भने, ‘शपथको कुरा छ । सत्तामा रहँदा एउटा शपथ र विपक्षमा रहँदा अर्को शपथ हुन्छ । यो कुरा मान्छेको एउटा नैतिकतासँग संस्कारसँग पनि सम्बन्धित हुने रहेछ । हाम्रो सम्मानित प्रधानमन्त्रीले यो भन्दा अघि शपथ खाने बेला ठूलो हास्यव्यंग्य बन्यो । हामीले अब के गर्नुपर्छ भने जे शपथ खाने हो त्यो यहीँ पास गरौँ । शपथ खुवानेले एउटा र शपथ खानेले एउटा नगरौँ । जनता भन्नेपनि यहीँ लेखौँ, ईश्वर भन्नेभएपनि यही लेखौँ । महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ । त्यो यहीँ पास गरौँ नत्र हामी हास्यव्यंग्य जस्तो हुन्छौँ । यी कुराहरुमा ख्याल होस्, हामी हास्यव्यंग्यको पात्र नबनौँ ।’

Logo