निषेधाज्ञाले कोरोना संक्रमण घट्दै जाने विज्ञहरुको दाबी

निषेधाज्ञाले कोरोना संक्रमण घट्दै जाने विज्ञहरुको दाबी


काठमाडौं ।

विगत ८ महिनादेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएको छ । यो महामारीले विश्व नै पाँच महिनासम्म लकडाउनमा रहनु परेको थियो तर सधैं यसरी विश्व लकडाउनमा रहने अवस्था नहुने भएकाले अहिले अधिकांश मुलुकमा लकडाउन अन्त्य भएको छ । तर कोरोना भाइरसको संक्रमण भने विश्व भरी नै बढ्दै गएको छ ।

यो महामारीबाट नेपाल पनि अछुतो रहको छैन । नेपालमा पनि कोरोना संक्रमण देखा परेपछि कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म पाँच महिना लामो लकडाउन गरेको थियो । लकडाउनको अवधिको पछिल्लो चार महिनामा केही संक्रमण दर कम भए पनि सरकारले साउन ६ गते देखि लकडाउनको अन्त्य गरे पश्चात पुनः काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमण तथा मुत्यु समेत ह्वातै बढ्दै गएको छ ।

यसरी संक्रमण बढ्दै गएकाले अहिले ४८ जिल्लामा संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको छ । यसरी निषेधाज्ञा जारी पश्चात बढ्दै गएको कोरोना संक्रमण रोक्न निषेधाज्ञाले सकारात्मक प्रभाव बनाउने विज्ञहरुले दाबी गरेका छन् । काठमाडौं उपत्यकामा एक साताका लागि लागू गरिएको निषेधाज्ञा कतिको फलदायी बन्छ आगामी एक साताबाट देखिने विज्ञहरूको भनाइ छ ।

भिडभाड तथा मानिसहरुको चाप कम भएमा संक्रमण फैलिन नपाउने भएकाले निषेधाज्ञाले सकारात्मक प्रभाव पर्ने गर्छ । निषेधाज्ञामा मानिसहरुको ट्राभल नहुने भएकाले संक्रमण परिक्षण गर्न पनि सजिलो हुने र उपत्यकामा कोरोना कस्तो अवस्थामा रहेको छ भन्ने तथा संक्रमण नियन्त्रणका लागि स्थान पहिचान हुने भएकाले एक सातामा कोरोना संक्रमण घट्ने तथा बढ्ने आँकलन गर्न सकिने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले बताए ।

उनका अनुसार निषेधाज्ञाले मानिसहरुको ट्राभल गतिविधि कम हुने हुन्छ । यस अघि लकडाउन अन्त्य भएसँगै उपत्यकामा मानिसहरुको चाप बढ्दै गएकाले निषेधाज्ञा जारी गरिएको हो । निश्चय पनि निषेधाज्ञाले संक्रमण दर घटाउन सकारात्मक भुमिका खेल्छ । यसले गर्दा संक्रमणदर संख्याको हिसावले घट्दै जान्छ । उनले भने, ‘अहिले स्वास्थ्य मन्त्रालय निषेधाज्ञा मात्रै गरेर बसेको छैन । उपत्यकाका स्थानीय तहहरु समेत लागि परेर व्यापक रुपमा परिक्षणको दायरा बढाउने तथा संक्रमितको सम्पर्कमा आएका सबैको खोजी खोजी कन्ट्राक्ट टेसिङ र टेस्टिङ गर्ने तयारीमा रहका छौं ।’

अहिले सरकारले कुनै काम योजना विना नै काम गरिरहेको भन्ने कुरा आइरहेको छ । तर यस्तो नभएर सरकारले महामारी नियन्त्रणका लागि योजना बनाएर नै अगाडि बढेको छ । यो सरुवा रोग भएकाले कहिले कुन ठाउँमा कस्तो प्रभाव पार्छ भन्ने यकिन नभएकाले सरकारले केही नगरेको जस्तो देखिएको हो । तर सरकारले अब जुन ठाउँमा बढी प्रभाव देखिन्छ त्यस ठाउँमा परिक्षण र सिल गरेर नियन्त्रण गर्ने उनको भनाइ रहेको छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले पनि निषेधाज्ञा सुरु भएको एक सातापछि यसको सकारात्मक परिणाम देखिन सुरु हुने बताएका छन् । उनले उपत्यकामा जारी निषेधाज्ञाले संक्रमण विस्तारमा कस्तो प्रभाव पारेको छ भन्ने अबको एक साता भित्रै नतिजा आउँछ । उनले भने, ‘ निषेधाज्ञामा सडक देखिने मानिसहको चाप घट्ने तथा संक्रमित व्यक्ति घरमै रहने भएकाले संक्रमण विस्तारको कडी तोड्न सहज हुन्छ । त्यसैले उपत्यका लगायत निषेधाज्ञा जारी रहेका जिल्लामा संक्रमणको दर घट्दै जान्छ ।’

त्यस्तै, सरुवा रोग विशेषयज्ञ डा.शेर बहादुर पुनले पनि लकडाउन तथा निषेधाज्ञा गर्नु कोरोना संक्रमणको कम गर्न तथा भाइरस फैलिन नदिनु रहेकाले निषेधाज्ञाले संक्रमण दर कम गर्ने बताएका छन् । अब यसले संक्रमण कम गर्छ भन्दा पनि अब के गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढ्नु जरुरी रहेको छ । यस अघि तीन महिनासम्म गरिएको लकडाउनको बेलामा उपत्यका लगायत देशैभर तयारी कम गरिएकाले अहिले संक्रमण बढ्दै गएको छ । अब त्यस्तो नभएर निषेधाज्ञालाई अबको तयारी गर्ने मौकाको रुपमा योजना बनाएर अगाडि बढ्दा अवश्य पनि भाइरस नियन्त्रणको लागि सहज हुनेछ ।

उनले भने, ‘ उपत्यकामा कोरोना संक्रमण बढ्नुको मुख्य कारण भनेको लकडाउन अन्त्य भएसँगै रोजगारीका लागि संक्रमण बढी भएका जिल्ला तथा भारतबाट समेत आएका छन् । यसरी आएर उनीहरु १४ दिनसम्म क्वारेन्टाइनमा नबसेर व्यापार व्यवसायमा लागेर उनीहरुबाट अरुमा संक्रमण फैलिएकाले उपत्यकामा संक्रमण बढ्दै गएको हो । त्यस्तै, लकडाउन अन्त्यसँगै मानिसहरुले हेलचेक्राई गर्ने गरेका तथा सरकारले उपत्यका बाहिरबाट आउने मानिसहरुको उचित व्यवस्थापन गर्न नसकेकाले यस्तो अवस्था आएको हो । अब सरकारले संक्रमण कम गर्नका लागि परिक्षणको दायरा बढाएर कन्ट्राक्ट टे«सिङ गर्नु जरुरी छ ।’

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले पनि राजधानीमा अझै निषेधाज्ञापछिको अवस्था स्पष्ट हुन नसकेको तर उपत्यकाबाहिर दूई साता अगाडि देखि नै निषेधाज्ञा जारी रहेकाले संक्रमण विस्तारमा कमी हुने संकेत मिलेको बताए ।
उनका अनुसार काठमाडौं उपत्यका लगायत जनघनत्व बढी भएका सहरहरूमा सर्वसाधारणको चहलपहल र भीडभाड तथा मानिसहरुको हेलचेक्राई बढ्नाले कोरोना संक्रमण बढ्दै गएको छ । विज्ञहरुका अनुसार तीजको समयमा निषेधाज्ञा नभएको भए काठमाडौंमा कोरोना संक्रमण बढ्ने सम्भावना रहेको थियो तर कोरोना हटस्पट हुने भनेपछि निषेधाज्ञा गरिएकाले कोरोना संक्रमण कम हुने विज्ञहरुको भनाइ हरेको छ ।

विज्ञहरूले निषेधाज्ञाको मौकामा संक्रमण रोकथाम र बिरामीको उपचारका लागि तयारीमा जुट्नसमेत सुझाएका छन् । ‘कर्फ्यु , निषेधाज्ञा, लकडाउनले कोभिड–१९ संक्रमण नरोकिने भएकाले निषेधाज्ञा नै अन्तिम विकल्प नभएको ईडीसीडीका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए ।

उनका अनुसार कोरोना संक्रमित निर्बाध ओहोरदोहोर गरिरहेकाले पनि जोखिम निम्त्याएको छ । अब सरकारले संक्रमितहरुको जथाभावी ओहोरदोहोर रोक्नु जरुरी छ । उनले भने,‘ यसरी रोकेर संक्रमितको द्रुतगतिमा पहिचान गरी आइसोलेसनमा राखेर उपचार गरेमा मात्र संक्रमण विस्तारमा कमी आउँछ नत्र झन संक्रमण बढ्दै जाने खतरा हुन्छ ।’

स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सबैले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरे मात्रै कोरोनासँग जुध्न सहज हुन्छ । सरकारले हाम्रो असुरक्षित जीवनशैली र काम गर्ने पद्धतिमा परिवर्तन गरी सरकारका स्वास्थ्य मापदण्ड पालना नगर्नेमाथि कडा रूपमा प्रस्तुत भई उचित दण्ड सजाय बढाउनु पर्ने उनको भनाइ छ ।

Logo