केन्द्रबिन्दु एक्सप्रेसः एसईईको नतिजा सार्वजनिकदेखि राष्ट्रिय सभाको बैठक अवरुद्धसम्म [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः एसईईको नतिजा सार्वजनिकदेखि राष्ट्रिय सभाको बैठक अवरुद्धसम्म [भिडियाे]


कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्। सभामुख बाबुराम गौतमसहित ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै दाबी पेश गरेका थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार ’जीपीए’ल्याएका छन् भने ५५ हजार ६९ जना विद्यार्थीले तीन दशमलव २० देखि तीन दशमलव ६० जीपीए ल्याएका छन् । 

राष्ट्रिय सभाको बैठक बिहीबार पनि अवरुद्ध भएको छ । बिहीवारको बैठकमा नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’भनेर दिएको अभिव्यक्ति राष्ट्रियहित विपरीत रहेको आरोप लगाउदै  सांसदहरूले विरोध जनाइरहेपछि संसद् बैठक स्थगित भएको हो। 

नायिका,मोडेल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले राजनीति त्यागेको घोषणा गरेकी छिन् । पाँच महिना अघि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्तिमा प्रवेश गरेकी गौतमले एकाएक सक्रिय राजनीतिबाट सन्यास लिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपअधिकारीलाई दोस्रो स्पष्टीकरण तिन दिन भित्र बुझाउन अनुरोध गरेको छ । बिहीबार पर्यटनमन्त्री सुदन किरातीले ‘के कतिकारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्ने व्यहोराको दोस्रो स्पष्टीकरण सोधेका हुन् । 

सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिकै कारण राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनै बेलाको प्रसङ्गमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल स्वदेश  फर्किएका छन् । श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार  नेपाल श्रीलङ्का प्रस्थान गरेका थिए । 

सरकारले आगामी छ वर्षभित्र बेरोजगारको सङ्ख्या एकल अङ्कमा झार्ने लक्ष्य लिने भएको छ । यसका लागि राष्ट्रिय योजना आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमा अगाडि बढाएको छ । मुलुक भित्रै रोजगारी सिर्जना गरी बेरोजगारीको सङ्ख्या  कम गर्ने लक्ष्य राखिएको छ । 

सरकारले स्थानीय तहमा कटौती गरेको वित्तीय सम्मानीकरण अनुदानको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

गत वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९/०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सम्मानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौती गरेको थियो।

शेयर बजार बिहीवार खासै घटबढ नभई दुई हजार ४९ विन्दुमै रहेको छ । दिनभर घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्दहुने बेलामा शून्य दशमलव शून्य छ अङ्कले घटेको हो ।

फेसबुकको मातृ कम्पनी मेटाले थ्रेड्स् एप सञ्चालनमा ल्याएको छ । मेटा फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी हो । उसले थ्रेड्स् नामको नयाँएप सञ्चालनमा ल्याएको छ। यो एपलाई ट्विटरको प्रतिस्पर्धी एपका रुपमा लिइएको छ। 

Logo