महानायक राजेश हमाल अभिनित ‘रातो टिकी’ बाेलकाे म्युजिक भिडियो सार्वजनिक

महानायक राजेश हमाल अभिनित ‘रातो टिकी’ बाेलकाे म्युजिक भिडियो सार्वजनिक


महानायक राजेश हमाल अभिनित देउडा शैलीको गीत ‘रातो टिकी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएकोे हो । 

गायक कृष्ण विक, गायिका मेलिना राई, रेखा जोशीको स्वर रहेको गीतमा सुरेश अधिकारीले शब्द रचना तथा संगीत भरेका छन् । गीतमा संगीत संयोजन  श्यामस्वयत रसाइलीको रहेको छ । 

जि.बि. आग्रीको कथा/निर्देशन रहेको म्युजिक भिडियोले सामाजिक परिवर्तनलाइ मुख्य आधार बनाएर विधुवा महिलाको कथालाई समेटेको छ ।

भिडियोमा  महानायक राजेश हमालसँगै दिलिप रायमाझी, नीता ढुंगाना,केकी अधिकारी घनश्याम जोशी लगायत कलाकारको अभिनय रहेको छ । भिडियोमा नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् भने छांयाकन गोपाल रायमाझी र सम्पादन विपिन मल्लको रहेको छ । 

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री खड्काले गीतले सामाजिक विषयवस्तुलाई समेटेको र कलाकारहरूको अभिनय उत्कृष्ट रहेको बताए । उनले गीतमा सदियौंदेखि महिलाहरूले संस्कार र संस्कृतिको नाममा महिलाले पाउने हक अधिकारमा छेकबार लगाएको  विषयलाई प्रतिनिधित्व गरेको बताए  । 

साथै उनले अन्य क्षेत्रमा विधुवाले भोग्नु परेको समस्या कम हुँदै गएपनि सुदुरपश्चिम र कर्णाली क्षेत्रमा भने अझै बाँकी रहेको भनाई राखे । खड्काले म्युजिक भिडियो टीमलाई धन्यवाद दिँदै गीतले समाजको आँखा खोल्न ठूलो अस्त्रको भूमिका खेल्ने बताए ।

सो अवसरमा कलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौलाले पनि म्युजिक भिडियो उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे । 

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री खड्कासहित विश्व हिन्दु महासंघका उपाध्यक्ष ज्योत्सना साउद, सामाजिक अभियन्ता मुस्कान खातुन, कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत कलाकारिता क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा महानायक हमाल भने सहभागी भएका थिएनन् । युरोप भ्रमणमा रहेका उनले भर्चुअल माध्यमबाट शुभकामना सन्देश पठाउँदै भिडियोलाई प्रगतिको कामना गरे ।

कार्यक्रममा म्युजिक भिडियो आवद्ध तथा सहभागी अतिथिहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो । 

Logo