संस्कृतका विद्यार्थी शान्तिपूर्ण आन्दोलनमा टिक्छन् : काँग्रेस नेता पौडेल

संस्कृतका विद्यार्थी शान्तिपूर्ण आन्दोलनमा टिक्छन् : काँग्रेस नेता पौडेल


काठमाडौं ।
पूर्वसभामुख एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्कृतका विद्यार्थीमा भित्रैबाट आध्यात्मिक चेतको मनोबल हुने भएकाले शान्तिपूर्ण आन्दोलनमा टिक्ने गरेको बताएका छन् । संस्कृत छात्र सङ्घले नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसका अवसरमा सोमबार जुम प्रविधिबाट आयोजना गरेको ‘नेपालमा लोकतन्त्रको जागरण र स्थापनामा जयतु संस्कृतम् आन्दोलनको भूमिका’ विषयक अन्तर्क्रियामा उनले यही प्रेरणाले लोकतन्त्रका लागि गरिएको अधिकांश आन्दोलन अहिंसात्मक भएको बताए।

नेता पौडेलले भने, “निरङ्कुश राज्यशक्तिले पनि दबाउन नसक्ने चेत संस्कृतका विद्यार्थीमा हुने भएकाले जहानियाँ राणा शासनका बेलामा पहिलो विद्यार्थी आन्दोलन हुन सकेको हो, जयतु संस्कृतम् आन्दोलनका योद्धाले सामाजिक सुधारका लागि ब्राह्मणले हलो जोत्ने, छुवाछूतको अन्त्य लगायत परिवर्तनका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ ।”

संस्कृतले राष्ट्रवादको भावनालाई समेत जगाउने उनको भनाइ थियो । नेपाली काँग्रेस संसदीय दलका सचेतक एवं जयतु संस्कृतम्का योद्धा काशीनाथ गौतमकी सुपुत्री पुष्पा भुसाल गौतमले अहिलेको शासन व्यवस्था पनि वि.सं. २००४ को भन्दा फरक नदेखिएकाले लोकतान्त्रिक मूल्य मान्यता संरक्षणका लागि संस्कृतका विद्यार्थीले फेरि योगदान दिनुपर्ने समय आएको बताइन् ।

संविधानसभा सदस्य रामचन्द्र पोखरेलले सत्याग्रहीका रुपमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीले राखेको मागलाई दबाउन खोज्दा देशव्यापीरुपमा राणा शासनका विरुद्ध चेतना जागृत हुने अवसर मिलेको स्मरण गराए । संयुक्त राष्ट्रसङ्घका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्यले कालापानी, लिपुलेक, लिम्पियाधुराका बारेमा सुगौली सन्धिभन्दा अघिको जस्तो लडाईं गर्ने वातावरण नभएकाले कूटनीतिक वार्ताकै माध्यमबाट समस्या समाधान गरिनुपर्ने बताए ।

Logo