विराटनगरमा उपचाररत ६ सङ्क्रमित भोलि डिस्चार्ज हुने

विराटनगरमा उपचाररत ६ सङ्क्रमित भोलि डिस्चार्ज हुने


विराटनगर ।
कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना घर फर्कने भएका छन् ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए। उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये ६ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताए । उनीहरु सबै भारतीय नागरिकहरु हुन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिए । केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिन लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताइन् । उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिए । कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताइन् ।

आठ हजारको परीक्षण

प्रदेश नं १ मा द्रूत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म आठ हजार ३५ जनाको नमूना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३२८ र पिसिआरबाट एक हजार ७०७ जनाको नमूना परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या सोमबारसम्म कूल एक हजार ७७३ छ भने आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना छन् ।रासस

Logo