प्रदेश नं २ नामकरण : सबै दल मधेश प्रदेश नजीक

प्रदेश नं २ नामकरण : सबै दल मधेश प्रदेश नजीक


जनकपुरधाम ।
प्रदेश नं २ को नामकरणको विषयमा सबै राजनीतिक दल मधेश प्रदेश नजीक पुगेका छन् । गत भदौमा नाम र राजधानीका विषयमा गरेका प्रस्तावमाथि सहमतिका क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजीक पुगेका हुन् ।

प्रदेशको नामकरण सम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश, नेपाली काँग्रेसले मिथिला भोजपुरा र केहीले मध्यमधेश दर्ता गराएका छन् । दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटकपटकको छलफलपछि दलहरु मधेश प्रदेश नजीक पुगेका छन् ।

सबै दलका संसदीय दलका नेता समेतको सहभागितामा आइतबार सम्पन्न समितिको बैठक नामकरणको विषयमा सहमति नजीक पुगेको नेताहरुले प्रतिक्रिया दिए । बैठकमा सत्तारूढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनुपर्नेमा अडिग रहे पनि सहमतिका लागि भन्दै नेकपाले जानकी मधेश र नेपाली काँग्रेसले मिथिला मधेश नाम अघि सारेका छन् ।

मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्ग्याउन नसकिए पनि दलहरु सहमति नजीक पुगेको प्रतिक्रिया दिए । उनले मुलुकमा सङ्घीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनुपर्ने बताए ।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली काँग्रेससमेत मधेशलाई स्वीकार्य गरेकामा धन्यवाद दिंदै आगामी बैठकले टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरु सहमतिका लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउँदै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गरेका छन् ।

त्यसैगरी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सहमतिका लागि मिथिला मधेश नाम अघि सारेको भए पनि सत्तापक्ष मधेशबाहेक केही सुन्नै नचाहेकाले आइतबारको बैठक निष्कर्षविहीन भएको बताए । उनले सहमतिका लागि आफूहरु सदैव तयार रहेको प्रतिक्रियासमेत दिए । रासस

Logo