औद्योगिक क्षेत्रमै दैनिक १५ पटक सम्म विद्युत् कटौती

औद्योगिक क्षेत्रमै दैनिक १५ पटक सम्म विद्युत् कटौती


मोरङ,

मुलुक लोडसेडिङमुक्त घोषणा भइसके पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुन थालेको छ ।

यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने–जाने गर्दा उद्योगीहरू हैरान भएका छन् । सरकारको कर नीतिका कारण निराश बनेका उद्योगीहरू अघोषित विद्युत् कटौतीले झनै निराश बनेका छन् । “हाम्रो समस्या कहाँ पोखौं ?” उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे प्रश्न गर्छन्, “समृद्ध नेपाल, सुखी नेपाली ५ लाख युवालाई स्वदेशमै रोजगारी यसरी नै आउँछ ?” विद्युत् कटौतीले हैरान भएपछि संगठनले विद्युत् प्राधिकरणका प्रमुखसहित उद्योगी व्यवसायीसँग छलफलसमेत गरेको छ ।

अध्यक्ष घिमिरेले नेपाल विद्युत् प्राधिकरणको औद्योगिक लोडसेडिङले मेनरोड र ट्रिपिङको कारण उद्योगी÷व्यवसायी आक्रान्त भएको गुनासो पोखे । “बारम्बार विद्युत् अवरुद्ध हुँदा एकातर्फ उत्पादनमा ह्रास आई कच्चापदार्थ खेर गइरहेको छ भने अर्कोतर्फ उद्योगका मेसिन बिग्रिँदा उद्योगीहरू ठूलो नोक्सानी बेहोर्न बाध्य छन्,” घिमिरेले भने, “तत्काल समस्या समाधान नगरे ताला चाबी विद्युत् प्राधिकरणलाई बुझाउँछौं ।”

उत्पादन प्रक्रियामा मेसिनभित्र रहेको सामग्री विद्युत् जाँदा बिग्रिने गर्दछन् । यसबाट प्लाष्टिकजन्य उद्योगहरू बढी मारमा परेको संगठनका सदस्यसमेत रहेका नन्दकिशोर राठीले बताए । अध्यक्ष घिमिरेले विद्युतको अवस्थाका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए । विद्युत् कटौती हुँदा उत्पादन लागत झनै बढेको उनको भनाइ छ । कटहरी क्षेत्रका उद्योग विद्युत् समस्याको बढी मारमा परेको उपाध्यक्ष राजेश सुरानाले बताए । भोल्टेज तल–माथि र लो भोल्टेजको समस्या कटहरी क्षेत्रमा वर्षौंदेखि छ ।
कारोबारबाट

Logo