अमेरिकासँग भिड्न तयार छौँ : इरान

अमेरिकासँग भिड्न तयार छौँ : इरान


वासिङटन,

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर ठूलो गल्ती गरेको चेतावनी दिएका छन् । राष्ट्रपति सामरिक महत्वको हार्मुज जल क्षेत्रमा इरानले अमेरिकाको जासुसी विमान खसालिदिएपछि ट्रम्पले चेतावनी दिएका हुन् ।

हाल दुवै देशबीच तनाव बढेको छ । इरानी सेनाका प्रमुखले अमेरिकासँग लड्न तयार भएको बताएका छन् । बिहीवार ट्रम्पले ट्विट गर्नै भने, ‘इरानले भयानक गल्ती गरेको छ ।’ अमेरिकाले ठूलै कारबाही गर्ने संकेत दिएको छ । अमेरिकाले इरानमाथि लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको छ । इरानसँग तेल खरिद गर्दै आएका चीन, भारत लगायतका देशलाई पनि इरानी तेल नकिन्न दबाब दिँदै आएको छ ।

इरानको इस्लामिक रेभुलशनरी गार्डले आफ्नो हवाई क्षेत्रमा जासुसी गर्दै आएको अमेरिकी ड्रोनलाई खसालिदिएको बताएको थियो । शुरुमा अमेरिकाले यो झूट भएको दाबी गरेको थियो । अमेरिकी रक्षा मन्त्रालयले केही घण्टापछि मात्रै आफ्नो ड्रोन इरानले खसालिदिएको स्वीकार गरेको हो । यद्यपि आफ्नो विमान भने अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा भएको बताएको छ।

इरानले पनि अमेरिकी अत्याचार सहन नसक्ने बताउँदै युद्धका लागि तयार भएको बताएको छ । इरानले ड्रोन खासाल्नु अमेरिकाको लागि प्रतिष्ठाको विषय बनेको छ । अमेरिकीले उक्त ड्रोन संसारकै अत्याधुनिक र शक्तिशाली भएको दाबी गर्ने गरेको थियो । अमेरिकाले आफ्ना युद्धपोतका लागि सन् २०३२ सम्म यस्ता ६८ वटा ड्रोन सामेल गराउँदै थियो ।

यी ड्रोन ३० घण्टामा ५८ हजार फिटमाथि उड्न सक्छन् । अत्याधुनिक सेन्सर प्रयोग गरिएका ती ड्रोनले फुल मोशन भिडियो रेकर्ड गर्न सक्ने बताइएको छ । आफ्नो लक्ष्यमा अचुक मानिने ड्रोनमा रोल्स रायसका इन्जिन प्रयोग गरिएको छ । ५० फिट लम्बाइ भएको उक्त ड्रोन ३६८ माइल प्रतिघण्टा उड्न सक्छन् ।
एजेन्सी

Logo