ओलीलाई बधाई दिन बालकोट पुगे वाइसिएल नेताहरू

ओलीलाई बधाई दिन बालकोट पुगे वाइसिएल नेताहरू


केन्द्रबिन्दु संवाददाता । भक्तपुर, ३ पुस ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाइसिएलका केन्द्रीय पदाधिकारीले बधाई तथा शुभकामना दिएका छन् । वाइसिएल पदाधकारीको टोली सोमबार ओली निवास बालकोट पुगेर ओलीलाई बधाई तथा शुभकामना दिएको हो ।

बधाई दिन पुगेका वाइसिएलका नेताहरुले ओलीलाई छिटोभन्दा छिटो पार्टी एकता गर्नसमेत आग्रह गरे ।

ओलीले पार्टी एकता हुँदा कोही नेतालाई म समितिमा पर्दिन कि भन्ने चिन्ता होला तर त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन आग्रह गरे । ओलीले आफ्नो विचारप्रति आफू कहिल्यै विचलित नभएको उल्लेख गरे ।

उनले आफ्नो जेल जीवनबारे अनुभव सुनाउँदै भने ‘१४ वर्ष जेल बसेँ तर कुनै पूर्जीमा हस्तक्षर गरिन । जेलबाट छुट्दा पनि हस्ताक्षर नगरी निस्किएँ ।’ आफ्नो जेल जीवनको स्मरण सुनाउँदै ओलीले अगाडि भने ‘जेल हालेको केही समयपछि एउटा कागज ल्याएर हस्ताक्षर गर्न ठिक परेको त राजाको मन्त्री हुन तयार छु भनेको पो रहेछ ।’

त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिँडेको मान्छे फेरि राजाको मन्त्री खाने कुरा हुन्छ ? संविधान मान्दिन भनेर हिँडेको मान्छेले त्यही संविधान अन्तरगत मन्त्री हुने कुरा हुन्छ ? ओलीले प्रतिप्रश्न गर्दै सुनाए, ‘०४४ सालमा जेलबाट छुट्दा पनि सही नगरी छुटेको हुँ ।’

अडानबाट कहिले पनि विचलित नहुने स्वभाव भएकोले निर्णय लिने बेलामा नै सोचविचार गर्ने बानी रहेको उनले बताए ।

द्वन्द्वको बेला माओवादीका धेरै नेता कार्यकर्तालाई आफ्नो पहलले ज्यान बचाएको ओलीले वाइसिएलका नेताहरुलाई सुनाए । कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई, कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु’ ओलीले भने ‘विचार र बाटो सही वा गलत के हो भन्ने बहस गरौंला तर मान्छेको ज्यानै मार्नु हुन्न भन्ने मेरो मान्यता हो ।’

२०२८ सालमा झापा विद्रोहका बेला आफूहरुले पनि हिंसात्मक आन्दोलन थाले पनि मारकाटबाट राजनीति बदलिँदैन भनेर त्यसैबेला त्यस्तो विचार त्यागेको उनको भनाइ थियो ।

भेटमा वाइसिएल पदाधिकारीले काँग्रेसको शासनबाट देशले मुक्ति पाएको भन्दै यो जनमतको सम्मान गर्दै देशलाई विकासको बाटोमा लैजान ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना पनि दिएका छन् ।

उनीहरुले देशको विकास र समृद्धिका लागि आफूहरु जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । वाइसिएलका उपाध्यक्ष वीरु तामाङले भने ‘प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं, तपाईंको नेतृत्वमा पसिना बगाउन तयार छौं ।’

आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमणपत्र राखेर ऋणदिने व्यवस्था गरिएको बताए । युवाहरुलाई उद्यमी, अध्ययनशील, समाजका रोल मोडल र सीपयुक्त हुन पनि ओलीले सुझाव दिए ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाको नेतृत्वमा बधाइ दिन टोली बालकोट पुगेको थियो ।

 

 

Logo