विमान दुर्घटनास्थलमा सेना र प्रहरीको टोली पुग्यो, शब सिधै काठमाडौं ल्याइने

विमान दुर्घटनास्थलमा सेना र प्रहरीको टोली पुग्यो, शब सिधै काठमाडौं ल्याइने


नेपाली सेना र नेपाल प्रहरीको टोली तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ ।

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए । 

पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ । पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।

यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका(२ मा भेटिएको थियो । स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइनेसमेत उनले बताए ।

चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन् ।

Logo