निगमको नीतिगत समस्या समाधानका लागि सरकार तत्पर : मन्त्री भट्ट

निगमको नीतिगत समस्या समाधानका लागि सरकार तत्पर : मन्त्री भट्ट


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । 

शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगमसम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताएका हुन् । उनले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको पनि जिकिर गरे । यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने मन्त्री भट्टको भनाइ छ । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको उनले बताए । विपरीत विचार हुनेहरुले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरुलाई उनको आग्रह छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडी बढीरहेको भएपनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताए । निजी क्षेत्र नाफामुखी हुने र सोही अनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको उनको दाबी छ । तर सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको उनको आरोप छ । अनुगमन गर्दा आचारसंहिताभित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनै पनि उद्योगी व्यवसायीको मानमर्दन नगर्न उनले सरकारसँग आग्रह गरे ।

कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुले पेट्रोलियम पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकोले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने उनको तर्क छ ।

Logo