परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना नै बदल्नुपर्नेमा सांसदहरुको जोड

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना नै बदल्नुपर्नेमा सांसदहरुको जोड


सांसदहरुले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना नै बदल्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रतिष्ठानसँग गरेको छलफलमा सांसदहरुले यस्तो बताएका हुन्। नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई बलियो बनाउन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताइन्। विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई स्थान दिन आवश्यक रहेको उनको भनाइ थियो । प्रतिष्ठानको कार्यक्षेत्र र अधिकार क्षेत्र स्पष्ट बनाएर मात्र प्रतिफल लिन सकिने पनि उनले बताइन्। 

नेकपा एमालेका सांसद दीपकप्रकाश भट्टले परराष्ट्र मामिला सम्बन्धमा सरकारसँगै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान के गरिरहेको छ भन्ने थाहा पाउन मिडियामा आउने समाचारको भर पर्नुपर्ने अवस्था रहेको बताए। देशको संवेदनशीलतालाई बुझेर काम गर्नुपर्ने उनको भनाइ थियो। 

विश्व समुदायको विभिन्न मञ्चमा नेपालले सहभागिता जनाउँदा अथवा सहमति गर्दा समग्र देशलाई असर गर्ने हुँदा समय सापेक्ष अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए।

नेकपा एमालेका अर्का सांसद मोहन बानियाँले नेपालले पक्ष राष्ट्र भई गर्ने हरेक सन्धी सम्झौता हरेक नागरिकले बुझ्न पाउनुपर्ने बताए। सार्वभौम संसदका प्रतिनिधिले समेत नेपालले गरेका सन्धी सम्झौताबारे बेखबरको अवस्था रहेको उनको भनाइ थियो। 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले नेपालको बैदेशिक मामिला एवं अन्तर्राष्ट्रिय सम्बन्धमा अल्पकालिन तथा दीर्घकालिन नीति तर्जुमा गर्ने नेपाल सरकारलाई परामर्श प्रदान गर्ने काम गर्छ। प्रतिष्ठानले अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयामहरुको अध्ययन र अनुसन्धान गर्दै परराष्ट्र मामिलामा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा पृष्ठपोषण गर्दै आएको छ। 

Logo