लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ- कोरियाली पूर्वमन्त्री

लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ- कोरियाली पूर्वमन्त्री


नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा.ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्र्याउन सकिने बताएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्र्याएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे ।

कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक काम गरेका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लािग नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए । उनले दक्षिण कोरियाले सही नेतृत्वका कारण विकशित राष्ट्र बन्न सकेको बताए ।

उनले भने, “नेपालमा कैयन सम्भावना छन्, यी सम्भावनलाई अवसरका रुपमा लिन सके नेपालले पनि विकासमा छलाङ मार्न सक्छ । नेपालमा लगानीमैत्री वातावरण बनेमा विश्वबाट लगानी र प्रविधि ल्याउन समन्वय गर्छौ ।”

 हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एशोसियसनका अध्यक्ष समेत रहेका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी भित्र्याएर विकास गरेको स्मरण गरे । विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्नेमा जोड दिए ।

साताव्यापी नेपाल भ्रमणमा आएका लीले अर्थमन्त्री, लगानी वोर्डका पदाधिकारीलगायत उच्च सरकारी अधिकारीहरुसँग भेट गरी लगानीका सम्भावनाका बारे भेटवार्ता गरेका थिए ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले पूर्वमन्त्री लीको नेपालप्रतिको सद्भावका लागि धन्यवाद दिंदै नेपालले ली जस्तै लगानीकर्तालाई लगानीका लागि आह्वान गरे । उनले सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत सहयोग गरेको विषयलाई स्मरण गर्दै नेपाल विगतमा कमजोर नभएपनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको धारणा राखे ।

उपाध्यक्ष श्रेष्ठले आयोग १६ औँ पञ्चवर्षीय योजना निर्माणमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखी आयोजनामा ध्यान दिने बताए । गैरआवसीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकसित राष्ट्रले अवलम्वन गरेका विकासको नमूनालाई नेपालमा पनि भित्र्याएर छिट्टै विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । 

सो अवसरमा सङ्घका पूर्वउपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, दीपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याललगायतले नेपाललाई मोनोरेल, साना किसिमका सहरी रेलका माध्यमबाट पर्यटन र जल तथा नवीकरणीय ऊर्जाका माध्यमबाट विकास गर्न सकिने धारणा राखे ।

Logo