नेपालमा १ हजार ३५७ विदेशी अपराधी फरार

नेपालमा १ हजार ३५७ विदेशी अपराधी फरार


काठमाडौँ,

नेपालमा अपराध गरेर फरार विदेशी नागरिकको संख्या १ हजार ३५७ पुगेको छ । यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले देखाएको छ ।

अदालतबाट दोषी ठहर भएका फरार विदेशी अपराधीको कैद र दण्ड जरिवाना पनि असुलउपर हुन सकेको छैन । २०१९ साल यता नेपालमा अपराध गरेर फरार हुने विदेशीको संख्या बृद्धि भएको देखिन्छ । नेपाललाई अपराधको ट्रान्जिट प्वाइन्ट बनाउने विदेशी अपराधीको संख्या बढिरहेको फैसला कार्यान्वयन निर्देशनालयको तथ्यांकले देखाएको छ । विदेशी अपराधी फरार हुँदा राज्यले उठाउनुपर्ने ५ अर्ब रुपैयाँ बढी जरिमाना समेत संकटमा परेको छ ।

फैसला निर्देशनालयको तथ्यांक अनुसार कैद तथा भुक्तान असुल गर्नुपर्ने विदेशी अपराधी सबैभन्दा धेरै झापामा २४२ जना छन् । चितवनबाट ६५ भारतीय अपराधी फरार छन् । ती मध्ये अधिकांश जबर्जस्ती करणी, लागूऔषध र चोरीको घटनामा संलग्न छन् ।

अपराध गरी फरार हुनेमा नेपाल घुम्न आउनेदेखि विभिन्न कम्पनीमा आबद्ध रहेर घोटाला गर्नेसम्मका छन् । गत ६ असारमा तीनजना रोमिनियन नागरिकसँग मिली नक्कली एटीएम कार्ड प्रयोग गरेर २० लाख रुपैयाँ बढी चोरी गरेको आरोपमा प्रहरीले काठमाडौं शंखमूलका राजकुमार पाण्डेलाई पक्राउ परे पनि रोमिनियन नागरिक भने फरार छन् ।

आर्थिक वर्ष २०७४/७५ मा ७०८ लाई प्रहरीले प्रक्राउ गरी मुद्दा चलाएको थियो । २०७३/७४ मा ५१९ लाई, २०७२/७३ मा ४४९ र २०७१/७२ मा ४७१ विदेशीलाई प्रहरीले विभिन्न अपराधमा पक्राउ गरी मुद्दा चलाएको थियो । हरेक वर्ष नेपालमा पक्राउ पर्ने विदेशीको संख्या बढिरहेको तथ्यांकले देखाउँछ । पक्राउ पर्ने र मुद्दा दर्ता हुने क्रमसँगै अपराध गरेर फरार हुने विदेशीको संख्या पनि बर्सेनि बढिरहेको छ ।
राजधानीबाट

Logo