बेपत्ता युवतीको सीमाक्षेत्रबाट उद्धार

बेपत्ता युवतीको सीमाक्षेत्रबाट उद्धार


तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । 

सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो । घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले भने, “घरपरिवारले हुलियासहित हामीलाई निवेदन दिएको थियो, हामीले सीमा क्षेत्रमा पनि सञ्चार गरेका थियौँ, त्रिनगरबाट उद्धार गरिएको खबर आएको छ ।”     
     
उद्धार गरिएकी युवतीको घरपरिवारलाई खबर भइसकेको प्रहरीले जनाएको छ । भारतमा कोही आफन्त नरहेको र सररस्वती किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको र प्रहरीले थप अनुसन्धान गरिरहेको छ । शनिबार बिहान रोपाइँ गर्न भनी घरबाट हिँडेकी सरस्वती एक्कासी बेपत्ता भएकी थिइन् । बेपत्ता सरस्वतीको खोजीका लागि हुलियासहित प्रहरीलाई निवेदन दिएका थिए । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट सरस्वतीलाई भागी विवाह गरेको बताइएको छ ।     
 

Logo