निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन सिंहदरबारमा

निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन सिंहदरबारमा


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानका लागि सिंहदरबार आइपुगेका छन् । 

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइपुगेका हुन् । समितिको गत बुधबारको बैठकले महाभियोग लागेका जबरालाई बयानका लागि बोलाएको हो । 

समिति सभापतिको रूपमा काम गरिरहेका समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले समितिले महाभियोगका विषयमा आफ्ना धारणा राख्नका लागि जबरालाई बोलाउने निर्णय गरिएको जानकारी दिए । बुधबार बिहान ११ बजेका लागि समितिको बैठक बोलाइए पनि केही बेरमा सुरु हुने बताइएको छ ।

यसबीचमा पूर्वन्यायाधीश फोरम,नेपाल बारलगायतका संस्थाहरूले जबराविरुद्धका प्रमाण समितिलाई बुझाएका थिए । समितिले गत शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी ३ दिनभित्र प्रमाण, कागजात र जानकारी पठाउन आग्रह गरेको थियो।

प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । सोही दिनदेखि उनी निलम्बनमा परेका थिए । गत फागुन २२ मा गठन भएको महाभियोग सिफारिस समितिले २०७९ भदौ १ गतेदेखि काम थालेको थियो ।

Logo