पेट्रोलियम ढुवानी व्यवसायीद्वारा पुनः आन्दोलनको घोषणा, भाडा वृद्धि नभए २५ भदौबाट ढुवानी रोक्ने

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा पुनः आन्दोलनको घोषणा, भाडा वृद्धि नभए २५ भदौबाट ढुवानी रोक्ने


पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनको घोषणा गरेको छ । 

महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष खगेश्वर बोहोराले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने विज्ञप्तिमा भनिएको छ । 

ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ । निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको अध्यक्ष बोहोराले आरोप लगाए । महासंघले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।

इन्धन ढुवानीका लागि महासंघसँग करिब १९ सय ट्यांकरहरु सञ्चालनमा छन् । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाईन गत वर्षदेखि सञ्चालन आएपछि आधाजति ढुवानीका ट्यांकर बिजनेस नपाएर थन्किएका छन् ।

Logo