१२ असोज २०७९ बुधबार
1
1
1
1

पललाई सफाइ, सन्दीपलाई बलात्कारको बात

1
1
1
1

जबरजस्ती करणीको जाहेरी परेसँगै नेपाली क्रिकेट कप्तान सन्दीप लामिछानेको जग्माउँदो करिअरमा कालो बादल छाएको छ ।

गम्भीर आरोपमा मुछिएको मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने हुन सक्छ । सन्दीपविरुद्ध एक किशोरीले जाहेरी दिएपछि उनको क्रिकेट करिअर जोखिममा परेको हो । त्यस्तै ‘स्टारडम’को आडमा नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई मंगलबार मात्रै दुई वर्ष कैद सजाय भएको छ । आजको अंकमा हामी यी दुई विषयमा चर्चा गनेर्छौँ ।

जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको फैसला आएलगत्तै यता राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको छ । 

जाहेरीअनुसार ती किशोरी र सन्दीपको चिनजान सामाजिक सञ्जाल ‘स्न्यापच्याट’मार्फत भएको थियो। किशोरी सन्दीपकी फ्यान थिइन् । स्न्यापच्याटमा ‘स्यान्डी ड्रिम्स’ नामको सन्दीपको आईडीमा जोडिएकी उनलाई चर्चित सेलिब्रेटी सन्दीपले राम्रै महत्व दिएको महसुस गरी नजिक भइन् । स्न्यापच्याटमार्फत चिनजान भए पनि चिनजानको छोटो समयमै उनी अरु सामाजिक सञ्जालमा पनि जोडिएका थिए। तर सन्दीप भने ती किशोरीसँग स्न्यापच्याटमा मात्रै कुरा गर्थे ।

स्न्यापच्याटमा आफैँ म्यासेज डिलिट हुने गरी सेटिङ मिलाउने सुविधा हुन्छ । स्न्यापच्याटमा जोडिएपछि भेटघाटका लागि सन्दीपले प्रस्ताव गरेका थिए । भेटका लागि किशोरी राजी भइन् । भदौ ५ गते साँझ ६ बजे किशोरीलाई लिन सन्दीप निजी कार लिएर किशोरी बस्ने होस्टल नजिकै आए । कुनै क्याफेमा पुगेर कफी पिउँदै सन्दीपसँग फोटो लिने किशोरीको चाहना थियो । सन्दीपले किशोरीलाई लिएर भक्तपुरको नगरकोट हानिए ।

यतिन्जेल आफूहरु कहाँ जान लागेको भन्ने किशोरीलाई जानकारी थिएन । त्यसमाथि कारमा बसेलगत्तै सन्दीपले उनको मोबाइल पनि खोसिसकेका थिए । किशोरीले फर्किन आग्रह गरिन् । तर सन्दीपले समयमै ‘ड्रप’ गरिदिने आश्वासन दिए । करिब ८ बजे उनीहरु नगरकोट पुगे । नगरकोटमा केही खानपानसँगै सन्दीपले मद्यपान गरे । किशोरीको मन आत्तिरहेको थियो। उनीभित्र समयमै होस्टल फर्किने छटपटी थियो ।

उनले फर्किने जिद्दी गरिन् । किशोरीको जिद्दीपछि सन्दीप काठमाडौं फर्किन राजी भए । उनीहरु काठमाडौं पुगुञ्जेल रातिको ११ बजिसकेको थियो । होस्टल बन्द भइसकेकाले कहाँ जाने भन्ने अन्योल किशोरीमा थियो । सन्दीपले होटल जान प्रस्ताव गरेका थिए । साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको एक होटलमा उनीहरू गए । त्यसपछि मादक पदार्थ पिलाएर लठ्याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको आरोप किशोरीको छ ।

ती किशोरीका अनुसार सन्दीपले अर्को दिन नै उनलाई स्न्यापच्याट र इन्स्टाग्राम सबैतिरबाट ब्लक गरे । उक्त घटनाले मानसिक रूपमा विक्षिप्त बन्दै गएकी उनले ४ दिनपछि आफ्नो नजिकको एक जना साथीलाई सबै घटनाक्रम सविस्तार सुनाइन् । साथीले ‘पुलिस केस’ गर्न सुझाइन् । तर उल्टै आफूमाथि नै मानहानीको मुद्दा वा समाजमा विभिन्न लाञ्छना लाग्छन् कि भनेर उनी तर्सिइन् । जाहेरी दिन डराइन् । तर साथी र सामाजिक अभियन्ताले सम्झाइबुझाइ गरेपछि मंगलबार उनी प्रहरी वृत्तमा जाहेरी दिन पुगेको बताइएको छ ।

सन्दीप यतिबेला ट्रिनिडाड एन्ड टोबागोमा छन् । भदौ ६ मा नेपालबाट बिदाई भएका उनी केन्यासँग टी–२० सिरिज खेलेर क्यारेबियन प्रिमियर लिग खेल्न गएका हुन् । जबर्जस्ती करणीको घटना उनी केन्या जानुभन्दा अघिल्लो रातको हो । क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो ।

ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीहरु अनुशासन उल्लंघनमा कारवाहीमा परेपछि सन्दीपले कम उमेरमा राष्ट्रिय टिमको बागडोर पाएका हुन् । कप्तानका रुपमा उनको नतिजा मिश्रित छ भने खेलाडीका रुपमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । सन् २०२२ मा टी–२० मा सर्वाधिक विकेट लिने विश्वकै बलरहरुको सूचीमा उनी पर्छन् ।

केन्यामा वन डे क्रिकेट सिरिज छोडेर सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए । सीपीएलमा उनी जमैका तल्लाजवजमा आवद्ध छन् । सन्दीपले यसअघि सीपीएलका तीन संस्करण खेलिसकेका छन् ।

नेपालमा उनीविरुद्ध मुद्दा दायर भएको खबर सार्वजनिक भएसँगै अन्य विदेशी लिगमा पनि उनको स्थान गुम्न सक्ने खतरा छ । सन्दीप आगामी जनवरीमा यूएइमा आयोजना हुने टी–२० लिगमा पनि आवद्ध भइसकेका छन् ।

सो लिगमा डिजर्ट भाइपर्समा उनी आवद्ध भइसकेका छन् । सन्दीपको मुद्दाले समग्र नेपाली क्रिकेट नै प्रभावित हुने देखिन्छ । उनी नेपालका कप्तान मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा नेपाली क्रिकेटलाई चिनाउने एकमात्र क्रिकेटर हुन् । उनले विश्वका सबैजसो टी–२० लिग खेलिसकेका छन् र खेलिरहेका छन् । यदि सन्दीपमाथिको आरोप प्रमाणित भए १२ वर्षसम्म जेल सजाय हुन सक्छ । 

पलको मुद्धामा के भयो ?
जिल्ला अदालत, नवलपुरले कलाकार पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभए पनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर गरेको छ । फैसलामा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनिएको छ । अदालतले पीडितको अभिभावकलाई पनि सचेत गराएको छ ।

उमेर नपुगेको नाबालिक छोरीलाई गायन र अभिनय क्षेत्रमा एक्लै छाडेको र आफूले पूरा गर्नुपर्ने अविभावकीय कर्तव्यबाट च्युत रहेका कारण यौन दुव्यर्वहार भएकाले पीडितको अभिभावकलाई पनि सचेत गराएको छ ।
गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो ।

पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान दिएकी थिइन् ।


 

केन्द्रविन्दु टिभी

प्रकाशित: २३ भदौ २०७९ १०:१९ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी