लमजुङमा प्रत्यक्षतर्फ एक मात्र महिला उम्मेदवार सिफारिस

लमजुङमा प्रत्यक्षतर्फ एक मात्र महिला उम्मेदवार सिफारिस


लमजुङमा प्रत्यक्षतर्फ एक जना मात्र महिला उम्मेदवार सिफारिस भएकी छन्। आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ महिला उम्मेदवार सिफारिस भएकी हुन् । सो दलबाट गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी छन् । उनी प्रतिनिधि सभामा समानुपातिक तर्फबाट पनि सिफारिसमा परेकी छन् ।

उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ निर्वाचन लडेकी थिइन् । त्यसयता २०७० र ०७४ मा उनी समानुपातिकमा बसेकी थिइन् ।  नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ महिलाको नाम सिफारिस भएको छैन ।

लमजुङमा समानुपातिक तर्फ भने २९ जना महिलाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभा सदस्यतर्फ २१ जना महिलाको नाम सिफारिस भएको हो । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट तीनजना, नेकपा एमालेबाट दुईजना, माओवादी केन्द्रबाट दुईजना र नेपाल समाजवादी पार्टीबाट एकजना महिलाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । 

नेकपा एमालेबाट प्रतिनिधिसभा तर्फ केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ । सो दलबाट प्रदेश सभा समानुपातिकमा लक्ष्मीदेवी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया राना मगरको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा तर्फ कोपिला विक, तिरकाशी गुरुङ र कृष्णमाया विकको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभातर्फ प्रदेश (क) मा खुसीमाया (अस्मिता) गुरुङ, छुपीमाया गुरुङ, धनकुमारी गुरुङ, सप्रिया जोशी, विष्णुमाया न्यौपाने धितालको नाम सिफारिस गरेको छ ।

प्रदेश ख मा टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी क्षेत्री, ज्ञानु शाह, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ र माझी राष्ट्रिय मुक्ति मोर्चाकी महासचिव उर्मिला माझीको नाम सिफारिस भएको छ । प्रदेश सभातर्फ सतीमाया तामाङ, शोभा थापा र जुना विकको नाम सिफारिस भएको छ ।

नेपाल समाजवादी पार्टीले शोभा गिरीलाई प्रतिनिधि सभा र रेलकुमारी गुरुङलाई प्रदेशसभामा सिफारिस गरेको छ ।

Skip This
Logo