बालेनको अर्को एक्सन,भेटियो टुकुचा खोला

बालेनको अर्को एक्सन,भेटियो टुकुचा खोला


इन्जिनियर बालेन शाह मेयरमा निर्वाचित भएसँगै काठमाडौँमा अवैध रुपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायी, नियम नमान्ने जोकोही र भू–माफियाको भागदौड मच्चिएको छ ।

दशकौँदेखि अनाधिकृत रुपमा सरकारी जग्गा मिचेर ठूला ठूला महल बनाउन पल्केकाहरुका कारण हराएको ऐतिहासिक टुकुचा खोला भेटिएको खबरले अहिले सिंगो देश उत्साहित र तरगिंत छ । फेरि एकपटक काठमाडौंका मेयर बालेनको एक्सनको चौतर्फी वाहवाही भइरहेको छ । योसँगै अनेकौँ प्रश्न पनि उब्जिएका छन्– जयनेपाल हलको प्रांगणमा त खाली जमिन भएर खन्न गाह्रो भएन तर त्यहाँभन्दा अगाडि खोला बग्ने बाटोमा ठूल्ठूला घर र सडक छन्, ती ठाउँमा अब के हुन्छ ? के महानगरले त्यहाँ बनेका घर र सडक हटाएर टुकुचा खोलालाई उसको जग्गा फिर्ता गर्न सक्छ? आजको टे«ण्डिङ एक्सप्रेस यसै विषयमा केन्द्रित रहनेछ । 

२४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजनिक सूचना निकालेर टुकुचा खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन ।२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार ग¥यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।टुकुचाको खोजीको विषय पटक–पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु ।

यो खोला गायब भएका क्षेत्रमा ठूला–ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् । टुुकचा खोज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्वले आँट नै गर्न सकेन ।हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको कुरा धेरैलाई थाहा नै थियो । तर, यति ठूला–ठूला कुन भवनको मुनि कुन भागबाट कस्तो अवस्थामा खोला बगिरहेको छ भन्ने कुरा खोजी नै भएन ।

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन भनेकोथियो ।सूचनामा घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएको थियो ।यो पटक पनि टुकुचाबारेको सूचना विगतकै जस्तो ‘टाँस्नका लागि मात्रै हो’ भन्ने धेरैको अनुमान थियो । तर, बिहीबार दिउँसोे जय नेपाल हलको परिसरमा महानगरको डोजर पुगेपछि भने उक्त अनुमान फेल खायो ।

यसपटक मेयर बालेन्द्र साह (बालेन) ले विगतको जसरी सूचना मात्रै जारी गर्ने तर, खोला नखोज्ने परम्परा तोडेका छन् । डोजर लिएर पुगेको महानगरको टोली बिहीबार दिउँसोदेखिनै जय नेपाल हलको उत्तरतर्फको परिसरमा खन्न तल्लीन रह्यो । सुरुमा जय नेपाल हलको परिसरमा करिब १५ फिट खोतल्दा महानगरले खोला ढाकिएको परम्परागत गुम्बज शैली नाला फेला पारेको थियो । बिहीबार जय नेपाल हलको परिसरमुनि टुकुचा खोला भेटिंदा स्थानीय वासिन्दा नै अचम्ममा परे । टुुकुचालाई गहिरो खाल्डोमा ईंटाको डोलो पाइप बनाएर बगाएको भेटिंदा हेर्नेका भीड लाग्यो । जब इँटाको गोलो पाइपभित्र बगिरहेको टुुकचा देखियो, भीडले परर तालीले स्वागत पनि ग¥यो । भीड यति थियो कि भेटिएको टुकुचा हेर्न आउनेहरुलाई पन्छाउन नगर र ट्राफिक प्रहरीलाई मुश्किल पर्‍यो ।

दशकौं अगाडि हराएको टुकुचा खोला कहिले र कसको अतिक्रमणमा प¥यो भन्नेबारे सरकार र महानगर, नापी विभाग अनभिज्ञ छ । निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल–कल बगिरहेकै छ । तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजानजिक आउनुपर्छ । खोलामाथिको जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता छन् । उनीहरुसँग लालपूर्जा छ ।

कुनै बेला इच्छुमतिको नामले चिनिने टुकुचा बूढानीलकण्ठबाट सुरु भएर बालुवाटार, हात्तीसार, प्रदर्शनी मार्गहुँदै थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । टुकुचा, कुनै समय ठूलै खोला थियो । तर अहिले दुब्लाएको मात्रै छैन, बालुवाटार, गैह्रीधारा, हात्तिसारक्षेत्रमा टुकुचा खोला वेपत्ता भएको छ। हात्तीसार क्षेत्रमा त टुकुचा खोलामाथि व्यापारिक भवनहरु बनेका छन् र त्यहाँ लक्ष्मी बैंकले आफनो केन्द्रीय कार्यालय नै संचालन गरेको छ । यो सँगै इन्स्योरेन्स तथा रेष्टुरेण्ट पनि संचालनमा छन् ।मुख्यतः गैह्रीधारादेखि कमलादीसम्म पुग्दा टुकुचा खोलाको अस्तित्व करिब करिब सकिएको छ ।

काठमाण्डौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापी नक्सामा छैन । यो क्षेत्रमा खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । अब भने खोलानै गायब पारेर बनाइएको लक्ष्मी बैंकलगायतका भवन भत्काउन सुरु गर्ने महानगरको तयारी छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम छ । काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्मको चौडाई पनि सरदर कम्तीमा चार मिटर हो ।

यसलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । यस क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोडभन्दा वढि पर्छ । यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँभन्दा वढिको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । भूमिसम्बन्धि ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोला कसैले छोप्न नपाउँने स्पष्ट उल्लेख छ। यदि कसैले हडपेको, छापेको वा मिचेको भए खोलो पूर्ववत् अवस्थामै फर्काउनुपर्छ । तर नापी कार्यालयले खोलामाथि नापेर कित्ता छुट्याइदिने, मालपोत कार्यालयले लालपुर्जा दिने र काठमाण्डौ महानगरपालिका तथा उपत्यका विकास प्राधिकरणले नक्सा स्विकृत गरिदिने गरेकैले अहिलेको अवस्था आएको जानकारहरु वताउँछन् ।

Logo