‘कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्छ’ : काँग्रेस नेता जोशी

‘कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्छ’ : काँग्रेस नेता जोशी


काठमाडौं ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । प्रतिष्ठानले मङ्गलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिक आश्वस्त हुने गरी सरकारले काम गर्न नसकेको बताएको हो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले कोरोना उपचारका लागि सरकारलाई जिम्मेवाररूपमा नागरिकसामु प्रस्तुत हुन आग्रह गरे । “सरकारले क्वारेन्टिनको उचित व्यवस्था र पिसीआर परीक्षण प्रभावकारी बनाउनु पर्छ”, उनले भने । स्वास्थ्यको विषयलाई सरकारले प्राथमिकता दिनु पर्ने उनको भनाइ थियो ।

उनले अग्रभागमा खटिएर काम गर्ने व्यक्तिको पिसीआर परीक्षणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे । अध्यक्ष जोशीले बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमण दर बढ्दै गएको भन्दै पिसीआर परीक्षणको दायरालाई बढाउँदै जनतालाई निःशुल्क सेवा दिँदै लैजानु पर्ने बताए । सरकारले निजी अस्पतालसँगको सहकार्यमा कोरोना परीक्षणलाई तीव्रता दिनु पर्ने उनको भनाइ थियो ।

विश्वका विभिन्न मुलुकले तीव्रगतिमा कोरोना नियन्त्रणका लागि भ्याक्सिन निर्माण गरिरहेको बताउँदै उनले भ्याक्सिनले मान्यता पाउने बित्तिकै विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरेर नेपाल ल्याउने वातावरणमा सरकार जुट्नु पर्ने बताए।

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा सुधा शर्माले कोरोना सङ्क्रमण भएका बिरामी र नभएका बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल बनाउनु पर्ने बताइन् । कोरोना भएका र नभएका बिरामीलाई एउटै अस्पतालमा उपचारको व्यवस्था मिलाए कोरोना झन् फैलन सक्ने उनको भनाइ थियो । “कोरोनाको उपचारका लागि सरकारले दुई÷चारवटा अस्पताललाई पूर्णरूपमा खाली गरेर उपचार गर्नुपर्छ”, उनले भने । दक्ष जनशक्तिलाई तालिम दिएर कोरोनाको उपचारमा खटाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिष्ठानले यसअघि कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे छलफल गरी प्रतिवेदन बनाएर सरकारलाई बुझाएको थियो । यस्तै प्रतिष्ठानले शिक्षा र स्वास्थ्यका बारेमा समेत निरन्तर छलफल चलाइरहेको छ ।

Logo