नेपालले अमेरिकासँग गर्दैछ द्विपक्षीय हवाई सम्झौता

नेपालले अमेरिकासँग गर्दैछ द्विपक्षीय हवाई सम्झौता


नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । 

विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई सम्झौताको तयारी गरेको हो । अमेरिकालगायत विभिन्न मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौताका लागि आवश्यक प्रक्रिया अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखा प्रमुख एवम् सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । 

नेपालले हाल ४० देश र युरोपेली सङ्घ (इयु) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लो पटक अष्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो । अमेरिकासँगको हवाई सम्झौतापछि अमेरिकाको युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, नेपालका तर्फबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने जनाइएको छ । 

हाल नेपालमा टर्किस एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, थाई एयरलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् ।
 
नेपाल र स्विट्जरल्यान्डबीच द्विपक्षीय हवाई सम्झौताको अन्तिम तयारी भएको छ । क्यानाडाको मन्ट्रियलमा हालै भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४१औँ त्रैवार्षिक महासभाका अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको हो । नेपाल र स्विट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयु भएको र अरू धेरै मुलुकसँग एमओयु गर्ने पाइपलाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

दुई मुलुकबीच हवाई सम्झौता गर्ने सहमति भएको र छिट्टै औपचारिक सम्झौता हुने पर्यटन मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए । सहसचिव लामिछानेले नेपालको नीति नै अन्य मुलुकसँग हवाई सम्झौता गर्दै जाने रहेको भन्दै कुनै मुलुकले चासो जनाएमा सम्झौता गरेर जाने बताए । दुवै देशका नागरिक उड्डयन मन्त्रालयबीच हवाई सम्झौता हुन्छ । 

नेपालले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि छिट्टै हवाई सेवा सम्झौता गर्नेगरी तयारी गरेको छ । दुई मुलुकबीच हवाई सम्झौताको अन्तिम तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । इन्डोनेसिया–नेपाल दुईतर्फी उडानका लागि मन्त्रालयले आधिकारिक जिएसए तोकिसकेको छ । इन्डोनेसियाको गरुडा एयरका लागि नेपालको सोसाइटी इन्टरनेशनल आधिकारिक सिएसए रहेको छ ।

नेपालले अन्य मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्दा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल विस्तारका साथै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने सहसचिव लामिछानेले बताए ।

उनका अनुसार नेपालले सबै हिसाबले प्रगति गरेकाले यो पटक इयुको सुरक्षासूची ‘एयर सेफ्टी लिस्ट’ बाट हट्ने विश्वास लिइएको छ । नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको भन्दै आइकाओले डिसेम्बर २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । यसअघि आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकास सुरक्षित देखिएको छ ।

आइकाओको सेफ्टी अडिटमा नेपालले ७०.१ प्रतिशत अङ्क पाएको थियो । आइकाओको टोलीले १३ अप्रिलदेखि २५ अप्रिलसम्म विस्तृत अध्ययन तथा मूल्याङ्कन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट प्राधिकरणलाई बुझाएको थियो । इयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै सुरक्षा सूचीमा राखेको थियो ।

Logo