‘निर्वाचनमा गठबन्धनलाई दुई तिहाई मत दिनुस्, नागरिकता हामी दिन्छौं’-गृहमन्त्री खाण

‘निर्वाचनमा गठबन्धनलाई दुई तिहाई मत दिनुस्, नागरिकता हामी दिन्छौं’-गृहमन्त्री खाण


गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन् । 

गृहमन्त्री खाणले नागरिकताबिहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन पनि संविधान संशोधन गर्नुपर्ने भएकाले गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकीर समेत गरे । मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको बार्षिक साधारणसभामा बोल्दै उनले राष्ट्रपति विद्या भण्डारीले संविधान विपरित गएर नागरिकता विधेयक प्रमाणिकरण नगरेका कारण गैर आवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे ।

गृहमन्त्री खाणले  राष्ट्रपतिको सो गैर संवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणिकरणका लागि दवाव दिन पनि गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे । 

उनले भने,  ‘राष्ट्रपतिजीले यसलाई प्रमाणिकरण गर्नैपर्ने हो । पुनः पठाइएको विधेयक राष्ट्रपतिले फर्काउने व्यवस्था संविधानमा छैन । यसमा हाम्रो र गठबन्धन पार्टी र सरकारको निष्कर्ष के छ भने यो नागरिकता विधेयकलाई रोक्ने राष्ट्रपतिको जुन कदम हो । यो असंवैधानिक कदम हो । संविधान विपरितको कदम हो यो । राष्ट्रपतिले कुनै पनि सर्तमा असंवैधानिक कदम चाल्नै मिल्दैन । संविधानको संरक्षण र पालना गर्नेले असंवैधानिक कदम चाल्न पाईन्छ र ? तर चाल्नु भयो । त्यता सारा संसारको ध्यान जाओस् । तपाईहरुको पनि ध्यान जाओस् । उहाँलाई विरोध गर्ने भन्दा पनि सम्झाउनुपर्ने अवस्था छ । एउटा जन अभिमत बनाउनुपर्ने अवस्था छ । हामीले गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने गरी सो विधेयक ल्याएका हौं । छोरीले नागरिकता पायो ज्वाईले पाएन भनिदिनु हुन्छ के । संविधान बनाउने बेलामै त्यो व्यवस्था गरिएको छ नि त । त्यसकारण यो व्यवस्थालाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्छ । संविधान संशोधन गर्नका लागि दुई तिहाई चाहिन्छ । अहिलेको सत्तासिनसँग दुई तिहाई भए कोसिस गर्थ्यौं हामी । त्यसकारण मंसीर ४ गतेको निर्वाचनमा दुई तिहाई दिनुस् हामीलाई । हामी त्यही अनुसार जान्छौं ।’

गृहमन्त्री खाणले नेपालमा लगानी भित्र्याउन पनि गैरआवासीय नेपालीहरुलाई आह्वान गरे । गैर आवासीय नेपालीहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने उनको भनाई थियो । 

उनले भने, ‘नेपालमा केही न केही लगानी गरिदिनोस भन्ने हाम्रो आग्रह छ । त्यहाँ लगानीका लागि जुन फोरम तपाईहरुले बनाउनु भएको छ । त्यसमा कुनै समस्या छ भने ती समस्याहरुलाई सरकारले अविलम्व नै फुकाउने छ । र, लगानीलाई स्वागत गर्ने, लगानीलाई प्रोत्साहन गर्ने, चाँहे ठूला लगानीहरु हुन, चाहे स–साना लगानी हुन । त्यो लगानीको सुरक्षा गर्ने र बन्दोबस्त गर्ने काम सरकारको हो । संसारभरी नै राज्यको पहिलो दायित्व हुन्छ–आफ्ना देशका नागरिकको जीउधनको रक्षा गर्ने । अकालमा कसैको मृत्य नहोस् । उसको सम्पत्तिमाथिको स्वामित्व हरण नहोस् । त्यसकारण नेपाल सरकार पनि सबै नेपालीहरुको सम्पत्ति र जीवनको रक्षाका लागि प्रतिवद्ध छ ।’

Skip This
Logo