सात दलका सात अध्यक्ष, को-कहाँ कति सुरक्षित ?

सात दलका सात अध्यक्ष, को-कहाँ कति सुरक्षित ?


सत्ताको बाघडोर सम्हाल्नका लागि पाँच वर्षपछि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । विस्तारै चुनावी माहोल तात्दैछ । दल र उम्मेदवार मत माग्दै मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् ।

आमसभा, र्‍यालीजस्ता ठूला प्रचारात्मक कार्यक्रम गर्न नपाए पनि आफ्ना चुनावी ‘एजेण्डा’ सुनाउँदै मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् । नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ राजनीतिक दलहरू चुनावी मैदानमा होमिएका हुन् । मतदातासामु भए गरेका उपलब्धि सुनाउने र नौला प्रतिबद्धता जाहेर गर्ने क्रम चलिरहेको छ । 

चाडवाडसँगै खेतीबाली भित्र्याउने चटारोबीच उम्मेदवारका कुरा सुन्न कोही मतदाता उत्सुक देखिन्छन् भने कोही झुटो आश्वासनको खेती गरेको भन्दै रुष्ट छन् । यसैबीच हामीले मुलुकका शिर्ष पार्टीका नेतृत्व गरिरहेका नेताहरुको निर्वाचन क्षेत्रबारे चर्चा गरेका छौं । 

१. प्रधानमन्त्री शेरबहादुर देउवा, गृहजिल्लामा कति सुरक्षित छन् ? 
२०४८ सालदेखि अपराजित प्रधानमन्त्री शेरबहादुर देउवा यो पटक पनि आफ्नै गृहजिल्ला डडेल्धुराबाट चुनावी मैदानमा होमिएका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा यो उनको सातौं निर्वाचन हो । यसअघिका ६ वटै निर्वाचनमा कम्युनिष्टको मत बिना चुनाव जितेका उनलाई यो पटक भने माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ दिएका छन् । 

देउवाका सातजना प्रतिस्पर्धी भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको यहाँ उम्मेदवार छैन । पहिलो ठूलो संसदीय शक्ति एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर डडेल्धुरामा कर्ण मल्ललाई समर्थन गरेको छ । मल्ला ती व्यक्ति हुन् जसको साथ सहयोगमा देउवाले धेरै निर्वाचन जितेका थिए । अहिले भने उनी मल्ल कांग्रेस विपीको झण्डा र चुनाव चिह्न लिएर मैदानमा छन् । सागर ढकालसहित चारजना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसको बलियो उपस्थिति भएको क्षेत्र हो डडेलधुरा । स्थानीय तहमा कांग्रेसले प्राप्त गरेको मतले पनि त्यसको प्रभाव देखिन्छ । स्थानीय तहको चुनावमा डडेल्धुरामा कांग्रेस २१,७३५, माओवादी १२,८७८, एमाले १०,४४९, नेकपा एस ५,०४१, राप्रपा ७१४, जसपा १५६ मत रहेको थियो । स्थानीय तहको मतलाई आधार मान्ने हो भने देउवाको पल्ला भारी देखिन्छ तर मल्लले कांग्रेसको कति मत काट्छन् भन्ने यकिन छैन । त्यसको बाबजुद पनि माओवादी मतदाताले भोट खसाले भने देउवालाई केही सहज पक्कै हुनेछ । 

२. केपी शर्मा ओली, झापा– ५ मा कति सुरक्षित ?
आउँदो मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा फेरि एक पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रिएका छन् । २०४८ सालको आमनिर्वाचनदेखि निरन्तर उनी यो क्षेत्रबाट चुनाव लड्दै आएका छन् । यसपटक कांग्रेस–माओवादीसहितको चार दलीय गठबन्धन कायम रहने अवस्थामा ओलीका लागि प्रतिष्ठाको चुनाव पनि बन्ने देखिएको छ । ओलीको क्षेत्रमा २५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि उनको मुख्य प्रतिस्पर्धा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीसँग हुने देखिन्छ । ओली र अधिकारीबीच २०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । जहाँ ओलीले दोब्बर बढी मतान्तरले बाजी मारेका थिए । ०७४ मा वाम गठबन्धनबाट ओलीले ५७ हजार १ सय ३९ मत पाएका थिए । ओलीका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए ।

एमालेको बलियो उपस्थिति भएको क्षेत्र हो झापा– ५ । स्थानीय तहमा एमालेले प्राप्त गरेको मतले पनि त्यसको प्रभाव देखिन्छ । यद्यपि, ओलीको गृहनगर दमक नगरपालिकाको मेयर भने सत्ता गठबन्धनसँगको सहकार्यमा राप्रपाले जितेको थियो । झापाको निर्वाचन क्षेत्र ५ मा गौरादह नगरपालिकाका वडा नम्बरहरू १, २, ३, ४, ५, ६, ७, ८ गौरीगंज गाउँपालिकाका वडा नम्बरहरू ३, ४, ५ र ६, दमक नगरपालिकाका सबै वडा र कमल गाउँपालिकाका सबै वडा पर्छन् । उनको निर्वाचन क्षेत्रभित्र पर्ने २९ मध्ये १८ वडामा एमालेले जित निकालेको छ । 

३. पुष्पकमल दाहाल प्रचण्ड, चितवनबाट गोरखा गएका उनी कति सुरक्षित  ?
संसदीय प्रतिस्पर्धामा सहभागी भएयता हरेक चुनावमा फरकफरक क्षेत्रबाट उम्मेदवार बनेका छन् पुष्पकमल दाहाल । पहिलो संविधानसभामा रोल्पा र काठमाडौंबाट चुनाव लडेका दाहाल दोस्रोमा काठमाडौं र सिराहाबाट उम्मेदवार भए । २०७४ को आमनिर्वाचनमा चितवनका मतदातासँग पुगेका उनी मंसिर चारको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ पुगेका छन् । दाहालका लागि यो क्षेत्र पूर्वप्रधानमन्त्रीसमेत रहेका सशस्त्र युद्धका सहयात्री बाबुराम भट्टराईले छोडिदिएका हुन् । यसअघिको निर्वाचनमा यो क्षेत्रबाट भट्टराई निर्वाचित भएका थिए । यो क्षेत्रबाट दुईजना स्वतन्त्र सहित ११ जना उम्मेदवार मैदानमा छन् । ६६ वर्षीय दाहाललाई २९ वर्षे एमाले उम्मेदवार अब्दुस मियाँदेखि ९९ वर्षका स्वतन्त्र उम्मेदवार कांग्रेस बिपीका टिकादत्त पोखरेलसमेत छन् । 

गठबन्धनको साझा उम्मेदवार हुन् र विगतमा पनि माओवादी केन्द्रको जनाधार बलियो हुनु दाहालका लागि सकारात्मक छ । अझ त्यसमा माओवादी नेता नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईको पूर्ण साथ हुनुले दाहाल गोरखा क्षेत्र नम्बर २ मा सुरक्षित मानिएका छन् । हालैमात्र विवेकशिल साझा छाडेर एमालेको टिकट पाएका मियाँ गोरखा -२ का लागि नयाँ अनुहार भएकाले पनि दाहाललाई सुरक्षित भन्न सकिन्छ । गत स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धन निकट दलहरुले झण्डै ५२ हजार मत पाउँदा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकाहरुलाई जम्मा ६ हजार ५ सय मत प्राप्त भएको थियो । पुष्पकमल दाहालविरुद्ध उम्मेदवारी दिएका मियाँबाहेक अन्य उम्मेदवारले उल्लेखनीय मत ल्याउने संभावना छैन । गोरखा राप्रपाको पनि पकड क्षेत्र रहेको र कांग्रेसको मत विपीका उम्मेदवारले पनि तलमाथि गर्न सक्ने भएकाले दाहाललाई बसिबसि जित्ने सुविधा भने छैन । 

४. माधवकुमार नेपाल 
गठबन्धनको तेस्रो प्रमुख घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आफ्नो यसअघिको निर्वाचन क्षेत्र काठमाण्डौं क्षेत्र नम्बर २ छोडेर रौतहट -१ पुगेका छन् । हुन त रौतहट उनको गृहजिल्ला हो तर यसअघिका निर्वाचनमा उनी काठमाडौंबाट उम्मेदवार बन्दै आएका थिए । आफ्नो पुरानो निर्वाचन क्षेत्र फर्किएका नेपालले नौ जना स्वतन्त्रसहित अन्य १६ जना प्रतिस्पर्धीको सामना गर्दैछन् । चार दलीय गठबन्धनको साथ पाएका नेपाललाई उनकै पुरानो पार्टी एमालेका अजयकुमार गुप्ताले चुनौती दिने ठानिएको छ । यसअघि गौरको मेयर रहेका गुप्तालाई जनता समाजवादी पार्टीले समर्थन गरेको छ । ६९ वर्ष पुगेका अध्यक्ष नेपालले २५ वर्षका स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्र सहित ६ जना युवा उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन् ।  

पार्टी विभाजनपछि नयाँ पार्टी लिएर चुनावी मैदानमा होमिएका माधव नेपाललाई यस पटकको 'चुनावी ब्याटल' सहज छैन । त्यसो त उनले कमान्ड गरेको चुनाव पनि त्यति सम्झनलायक छैन । ३० वैशाखमा भएको स्थानीय चुनावमा ७५३ स्थानीय तहमध्ये एकीकृत समाजवादीले १८ वटामा मात्र जित निकाल्न सक्यो । जबकि उक्त चुनावमा पनि सत्तागठबन्धन कायम थियो । 

स्थानीय चुनावमा रौतहट–१ मा पर्ने गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडामा नेपालको दल एकीकृत समाजवादीले १९ हजार ९४४ मत पाएको थियो । १६ हजार ९४४ मतसहित कांग्रेस दोस्रो, १२ हजार ६२ मतसहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तेस्रो, ८ हजार २४१ मतसहित जनता समाजवादी पार्टी (जसपा) चौथो, ८ हजार १९१ मतसहित नेकपा (माओवादी केन्द्र) पाँचौँ हुँदा ७ हजार ३८५ मतसहित एमाले छैठौँ दल भयो । त्यहीँ मतले निरन्तरता पाउने हो भने र गठबन्धनको मत क्रस नहुने हो भने नेपाललाई पनि सुरक्षित मान्न सकिन्छ ।
 
५. उपेन्द्र यादव 
सत्ता गठबन्धनलाई तिलाञ्जली दिएर एमालेसँग साँठगाँठ गर्न पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरी -२ रोजेका छन् । तर उक्त क्षेत्रमा उनले मधेशंमा राम्रो जनसमर्थन बटुलेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसहित १६ जनाको सामना गर्नु पर्ने भएको छ । मधेस मुद्दा उठाएर नयाँ दल गठन गरेका राउतको संसदीय प्रतिस्पर्धा पहिलो हो । यो क्षेत्रमा सत्ताधारी गठबन्धनले भने लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरलाई समर्थन गरेको छ । २०७४ सालको निर्वाचनमा राजपासँग गठबन्धन गरेर यादवले सोही क्षेत्रबाट संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका थिए । यादवले २१ हजार ६ सय २० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गठबन्धनका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए । तर यसपटक परिस्थिति परिवर्तन भएको छ । लोसपा सत्तागठबन्धनमा छ । लोसपाका ठाकुर प्रतिस्पर्धी उम्मेदवार छन् । स्थानीय चुनावको मत परिणामअनुसार सत्तागठबन्धन झन्दै दोब्बर मतले अगाडी छ । स्थानीय अंकगणित प्रतिकुल देखिए पनि यादवले क्रस भोट बढी पाउनेमा पार्टीका नेता आशावादी छन् । 

६. महन्थ ठाकुर 
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रबाट २१ जनाले उम्मेदवारी दिए पनि गठबन्धनको साथ पाएका ठाकुरले जनता समाजवादी पार्टीका हरिनारायण यादवसँग प्रतिस्पर्धा गर्दैछन् । जसपालाई यहाँ एमालेको साथ छ । ८० वर्षीय ठाकुर संसदीय राजनीतिमा सुखद बिदाई चाहन्छन् । तर यस पटक संसद छिर्ने उनको प्रयत्नमा धेरै जतिलता छन् । ०७४ को निर्वाचनमा प्रतिद्वन्द्वीलाई १९ हजार मतान्तलरले हराएका ठाकुरलाई चुनौती दिन यसपटक उनकै पूर्वसहकर्मी बृषेशचन्द्र लाल हुन् । तमलोपा ब्युँत्याएर चुनावी मैदानमा रहेका लालको पकड यो क्षेत्रमा राम्रो मानिन्छ । 

हालै भएको स्थानीय तहको निर्वाचनको अंकगणितलाई नियाल्दा दलहरुमा जसपा मजबुत देखिए पनि सत्तारुढ गठबन्धनको मतमा ठाकुर अघि देखिन्छन् । स्थानीय तहको चुनावमा वडाअध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने जसपाले १४ हजार ३५७, लोसपाले १२ हजार ७३५, नेकपा एमालेले १० हजार ८२०, नेपाली कांग्रेसले ९ हजार ४३, माओवादी केन्द्रले ५ हजार १९५ र नेकपा एकीकृत समाजवादीले २ हजार ५७० मत पाएको थियो । महोत्तरी ३ मा ३५ वडाहरु छन् । 

७. राजेन्द्र लिङ्देन 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ मा यसअघि कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । मंसिर चार गतेको निर्वाचनमा पनि लिङदेनले उनै नेता सिटौलासँग प्रतिस्पर्धा गर्दैछन् । सिटौलासहित उनले राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवार प्रकाश पाठक सहित १७ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

एमालेको साथ पाएका लिङ्देनलाई सत्ताधारी गठबन्धनका उम्मेदवार सिटौलाको चुनौती कडा छ । एमालेका बागी उम्मेदवार डम्बर गिरी पनि लिङदेनका लागि भारी पर्न सक्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाठक पूर्व राप्रपा कार्यकर्ता भएकाले पनि लिङ्देनलाई केही असहज हुने पक्का छ । झापा– ३ मा कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका, हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिकाका १, २, ३, ४, ५, ६, ७ तथा ८ नम्बर वडाहरू र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्छन् ।

झापा– ३ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत २५ हजार ९ सय ४९, राप्रपाका वडाध्यक्षले २१ हजार १ सय ५१, एमालेका वडाध्यक्षले २१ हजार ८५ र माओवादीका वडाध्यक्षका उम्मेदवारले ६ हजार ६ सय ८८ मत पाएका छन् । गत स्थानीय निर्वाचनका आधारमा सत्तारुढ गठबन्धनभन्दा एमाले–राप्रपाको गठबन्धन बलियो देखिन्छ । तर, बागी उम्मेदवार गिरीले एमाले र पाठकले राप्रपाको कति मत काट्छन् भन्नेमा लिङ्देनको जितहारको निर्णय गर्नेछ ।

Logo