एमालेबाट टिकट नपाउँदा भुसालले पार्टी छाडे, रावलले मागेनन् उम्मेदवारहरुलाई मत

एमालेबाट टिकट नपाउँदा भुसालले पार्टी छाडे, रावलले मागेनन् उम्मेदवारहरुलाई मत


आगामी निर्वाचनका लागि दलहरूले चुनावी अभियानलाई व्यापक बनाउँदै लगेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्। संविधान जारी भएपछि हुन गइरहेको दोस्रो निर्वाचनका लागि राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरेर प्रचारप्रचार गरिरहेका छन्।

यो निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीभित्र टिकट बाँडफाँड गर्दा पार्टीका शीर्ष नेतासहित केही चर्चित नेताहरू टिकट पाउनबाट वञ्चित भएका छन्। पार्टीका केही शीर्ष नेताले पार्टीले टिकट दिँदा पनि अस्वीकार गरेका छन् भने केही नेताले चुनाव लड्ने चाहना राख्दा पनि टिकट पाउन सकेनन्। 

एमालेले चुनावमा टिकट नदिँदा केही नेताको विषय राष्ट्रिय चर्चाको विषय नै बन्यो भने केही नेताले पार्टी नै परित्याग गरेर स्वतन्त्र चुनाव लड्ने भएका छन्। यस्तैमा एमाले उपाध्यक्ष भीम रावल पनि यो चुनावमा टिकट पाउन सकेनन्। अछामबाट चुनाव लड्दै आएका नेता रावललाई अछाम १ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा अनुशासन कायम नगरेको र केन्द्र पार्टीको सम्पर्कमा नआएको भन्दै टिकट नदिएर झपट बोहरालाई टिकट दिए। जुन विषय राष्ट्रिय चासोको विषय बन्यो। 

अछाम जिल्ला कमिटी रावललाई सर्व सहमत रूपमा एकल सिफारिस गरेको थियो। माधव नेपाल समूहले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गर्दा दश बुँदे सहमति गरी रावल एमालेमै बसेका थिए। एमालेका पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले यसअघि अछामबाटै चुनाव जित्दै आएका थिए। रावललाई पार्टी केन्द्रले टिकट नदिएपछि एमाले अछामका अधिकांश पदाधिकारीले राजीनामा समेत दिएका थिए।

टिकट वितरण भएको केही दिनपछि नेता रावलले पत्रकार सम्मेलन गरी आफूलाई पार्टीले टिकट नदिएपछि औपचारिक धारणा सार्वजनिक गर्दै पार्टीभित्रै रहेर संघर्ष गर्ने जानकारी गराएका थिए। नेता रावलले पत्रकार सम्मेलनमा आफ्ना असन्तुष्टीहरू व्यक्त गर्दै राष्ट्रवादी नेताहरूलाई मतदाता गर्न समेत आग्रह गरेका थिए। विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टी व्यक्त गर्दै उनले देशभरका एमाले उम्मेदवारलाई भने भोट माग्न नसक्ने बताएका थिए।

यो निर्वाचनका निर्वाचन नलड्ने अर्को नेता एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि हुन्। उनले यो चुनावका लागि आफूले टिकट दाबी नगरेर नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै पाएको टिकट पनि त्यागेकी हुन्। एमालेले काठमाडौं ८ बाट चुनाव लड्न अनुरोध गरे पनि नेता शाक्यले संसदीय राजनीतिबाट स्वतः बिदा लिएको घोषणा गर्दै पार्टीको अनुरोध अस्वीकार गरेकी हुन्।  

बागमती प्रदेशको पूर्व मुख्यमन्त्रीसमेत रहेकी नेता शाक्य संघमा पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन्। नयाँलाई पनि अवसर दिनुपर्ने भन्दै नेता शाक्यले नेतृत्वलाई आग्रह गरेकी छिन्। आफू भन्दा पार्टी र संगठन बलियो बनाउनुपर्ने भन्दै नेता शाक्यले टिकट नदिने भनेपछि काठमाडौं ८ मा एमालेले शिवराज वैद्यलाई उम्मेदवार बनाएको छ।

यस्तै एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि यो चुनाव नलड्ने भएका छन्। दाङ ३ बाट सिफारिस भएका नेता ज्ञवालीले चुनाव लड्न चाहेको भए टिकट पाउन कुनै मुस्किल थिएन। तर, उनले अब आफू होइन नयाँलाई अवसर दिनुपर्छ भनेर टिकटको दौडबाट बाहिरिएको बताए। ‘दाङ ३ बाट मेरो नाम सिफारिस भएको थियो। मलाई त्यो ठाउँबाट उम्मेदवार बन्न साथीहरूले जोडबल गर्नुभएकै थियो’, उनले भने ‘मैले त्यहाँबाट म उठ्दा मात्रै जित्ने, नउठ्दा हार्ने अवस्था भएको भए म उठ्नुपर्थ्यो। तर त्यहाँ विकल्प तयार भएको छ। म बाहेक अरू उम्मेदवार बन्दा पनि पार्टीले नै जित्ने अवस्था छ। त्यसैले म नउठ्ने निर्णय गरेको हुँ।’

एमालेबाट टिकट पाउन नसकेपछि नेता घनश्याम भुसालले त पार्टी परित्याग नै गरेका छन्। एमालेको पदाधिकारीपछि स्थायी कमिटीमा पहिलो नम्बरमा रहेका नेता भुसालले पार्टी परित्यागको घोषणासँगै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार समेत बनेका छन्। उनलाई पाँच दलीय सत्ता गठबन्धनले चुनावमा समर्थन गर्ने घोषणा समेत गरिसकेको छ। 

गत निर्वाचनमा एमालेबाट रुपन्देही -३ बाट चुनाव जितेका नेता भुसाल एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री समेत भइसकेका छन्। एमाले पूर्व उपमहासचिव समेत रहेका नेता भुसालसँग नेकपा एमालेका नेता छविलाल विश्वकर्मा प्रतिस्पर्धामा छन्।

त्यस्तै दाङ १ बाट पूर्व सांसद गंगा चौधरीले एमालेविरुद्ध बागी उम्मेदवारी दिएकी छिन्। थरुहट आन्दोलनबाट चर्चामा आएकी नेता चौधरी एमालेबाट दाङ -१ बाट शान्ता चौधरीसहित सिफारिस भएकी थिइन्।तर पार्टीले शान्तालाई टिकट दिएपनि उनले बागी उम्मेदवारी दिएकी छिन्। 

देशैभरका सबैभन्दा बढी मतान्तरले दोलखाबाट विजयी भएर सञ्चार मन्त्री समेत बनेका पार्वत गुरुङले यो चुनावमा टिकट पाएनन्। दोलखामा अहिले बालकृष्ण सिवाकोटीलाई एमालेले टिकट दिएको छ। सिन्धुली पुर्वमन्त्री गणेश पहाडीले टिकट पाएनन्। जिल्लाबाट दुई–दुई पटक सांसदमा निर्वाचित भएका पहाडीले यो निर्वाचनमा संसदीय प्रतिस्पर्धाबाट बाहिरिएका छन्। गत निर्वाचनमा सुर्खेतबाट निर्वाचित भएर मन्त्री समेत भएका नवराज रावत पनि यो निर्वाचनमा चुनाव लडेनन्। आफूले पटक–पटक अवसर प्राप्त गरेकाले यस पटक नयाँलाई अवसर दिएको उनको भनाइ छ। 

यसैगरी कञ्चनपुर ३ का दीपकप्रकाश भट्ट, झापा २ मा पवित्रा निरौला खरेल, दैलेखमा राजबहादुर बुढा, पाल्पा १ मा दलबहादुर राना मगर, म्याग्दीका भूपेन्द्र थापा, सुनसरी १ मा जयकुमार राई, काठमाडौं ७ मा रामवीर मानन्धर, मकवानपुर १ मा कृष्ण दाहाल, कास्की १ मा जगत विश्वकर्मा, तनहुँ २ मा किरण गुरुङ, बाँके ३ मा नन्दलाल रोका क्षेत्री, बाजुरामा लालबहादुर थापाले टिकट पाउन सकेनन्।

गत निर्वाचनभन्दा यो निर्वाचनको चुनावी प्रतिस्पर्धा फरक रहेकाले पार्टीले चुनाव जित्ने अवस्था रहेका जनाधार बलियो भएका नेतालाई टिकट दीँदा प्राथमिकता दिएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल बताउँछन्। पाँच दलीय सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले केही ठाउँमा बलिया युवा उम्मेदवारलाई प्राथमिकता दिइएको नेता रिजालको भनाई छ। ‘गत निर्वाचनमा हामीले बाम गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेका थियौँ। तर यो निर्वाचन ठ्याक्कै अवस्था फेरिएको छ’, नेता रिजालले भने ‘त्यसैले पार्टीले टिकट दिँदा पाँच दलीय सत्ता गठबन्धनसँग टक्कर दिन सक्ने बलियो उम्मेदवार छनौट गरेको छ। जनाधार राम्रो भएको उम्मेदवारलाई पार्टीले प्राथमिकता दिएको छ।’

Logo