सम्बन्ध नभएको सन्दीपको दाबी, बालिग पुष्टि गर्न वकिलको प्रयासः किन ?

सम्बन्ध नभएको सन्दीपको दाबी, बालिग पुष्टि गर्न वकिलको प्रयासः किन ?


नाबालिकमाथि बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले शुक्रबार थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा गएसँगै लामिछाने मुद्धाको अन्तिम टुंगो नलागेसम्म हिरासतमै रहने भएका छन् । 

एक किशोरीले गौशाला प्रहरी वृत्तमा गएको भदौ २१ गते आफूलाई सन्दीपले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । क्रिकेटर देव खनालमार्फत चिनजान भई सामाजिक सञ्जालमा जोडिएपछि सन्दीपले भदौ ५ गते नगरकोट र काठमाडौंका विभिन्न होटल पु-याएर पटकपटक जबरजस्ती करणी गरेको आरोप ती किशोरीको छ । प्रहरीले सोही बयान, सीसीटीभी फुटेज, रिस्टोर गरिएका स्न्यापच्याट म्यासेज, अन्य व्यक्तिको बयान आदिलाई प्रमाणका रुपमा पेश गरी १० देखि १२ वर्ष कैद सजाय तथा क्षतिपूर्तिको माग गरेको छ ।

तर सन्दीपले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । बलात्कार गरेको भनिएको रात होटलमा किशोरी र आफूसँगै बसे पनि शारीरिक सम्बन्ध नभएको दाबी उनले गरेका छन् । किशोरीकै जोडबलमा नगरकोट घुम्न गएको, किशोरीले नगरकोटमै बस्न आग्रह गरे पनि आफूले कर गरेर काठमाडौं फर्किएको र किशोरीको होस्टल बन्द भइसकेकाले रातिसँगै होटलमा बस्न परेको उनको बयान छ । जबरजस्ती करणी नभएको दाबी गर्दैगर्दा उनले किशोरीको उमेरबारे पनि प्रश्न उठाएका छन् । किशोरी नाबालिग नभएको दाबी सन्दीपको छ । बयानमा उनले कुराकानीकै क्रममा किशोरी आफैंले आफू अहिले १९ वर्षको भएको र भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमाबुबाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएकोे भन्दै कुरा समेत गरेको बताएका छन् । उनको बयानअनुसार वकिलले पनि आरोप लगाउने किशोरी नाबालिक नरहेको दाबी गरेका छन् ।

सुरुदेखि आरोप सत्य नभएको दाबी गरिरहेका सन्दीपले अदालतमा दुई दलिल प्रस्तुत गरेका छन् । एक– त्यो रात सँगै बसे पनि शारीरिक सम्बन्ध नै नभएको र दोस्रो– किशोरी नाबालिग नभएको । 

प्रहरीले किशोरी नाबालिग रहेको पुष्टि हुने नागरिकतासहित मुद्दा चलाइरहँदा सन्दीपका वकिलले भने विद्यालय भर्नाको जन्मदर्तालाई मुख्य प्रमाणका रुपमा पेश गरी किशोरी बालिग रहेको पुष्टि गर्ने प्रयास गरेका छन्। सन्दीपले सम्बन्ध नै नभएको दाबी गरिरहँदा आरोप खण्डनभन्दा पर गएर कानुन व्यवसायीले उनको उमेरसम्बन्धमा प्रश्न उठाइरहेका छन् । बलात्कारसम्बन्धी हदम्यादको प्रावधानलाई कानुनसँग लडेर जोड्न सकिने कानुनविद्हरुको तर्क छ ।

मुलुकी अपराधसंहिता २०७४ ले १८ वर्षमुनिका किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि त्यसलाई जबरजस्ती करणीका रुपमा व्याख्या गरेको छ । यस्तो अपराध पुष्टि भएमा अभियुक्तलाई १० देखि १२ वर्षसम्मको सजाय हुनसक्छ । तर १८ वर्षभन्दा माथिका युवतीसँग भएको सहमतिको यौन सम्बन्धलाई भने कानुनले बलात्कार मान्दैन। जसकारण सन्दीपका कानुन व्यवसायीको दाबी पुष्टि भएमा सन्दीपलाई उन्मुक्तिका लागि केही सहज हुनेछ । तर, जबरजस्ती सम्बन्ध राखेको प्रमाणित भएमा भने उनलाई कानुनी छुट्कारा हुनेछैन ।

सन्दीपका कानुन व्यवसायीले उनलाई सर्वप्रथम धरौटीमा छुटाउने प्रयासस्वरुप किशोरी नाबालिग नभएको पुष्टि गर्न खोजेको हुनसक्ने विश्लेषण कानुनविद्हरुको छ । १८ वर्षमाथिका युवतीसँग भएको सहमतिको सम्बन्धलाई कानुनले बलात्कार नमान्ने र युवतीको उमेर १८ वर्ष नाघेको पाइएमा धरौटीमा छुटेर मुद्दा लड्ने वातावरण बन्न सक्ने कानुनविद्हरु बताउँछन् । यही कारणले सन्दीप पक्षले बलात्कार नभएको दाबी गरिरहँदा किशोरी साबालिग भएको भन्ने पनि पुष्टि गर्ने प्रयास गरेको हुनसक्ने उनीहरुको भनाइ छ । 

Logo