चुनाव व्यक्ति चुन्नका लागि मात्र हाेइन, देशको भविष्य चुन्न पनि हो -राजेन्द्र लिङ्देन

चुनाव व्यक्ति चुन्नका लागि मात्र हाेइन, देशको भविष्य चुन्न पनि हो -राजेन्द्र लिङ्देन


राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भनेको एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयाेजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव भनेको देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्।

आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उनले बताए । निर्वाचनले देश र जनताका भविष्य बनाउने भएकाले आसन्न निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह पनि गरेका छन् ।

तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि देश ठूला भनिएका पार्टी र नेताहरूको बन्धकमा परेको आरोपसमेत लगाए । तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाउँदै सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणाले गरेको विकासको स्मरण गराए।

साथै अध्यक्ष लिङ्देनले अब संसद प्रवेश गर्दा एक्लो नहुने पनि दाबी गरे । ‘एक कार्यकाल एक्लो सांसदको रूपमा बिताएँ । संसदमा मैले सुशासनको विषयमा कुरा उठाइराखेँ । संसदबाट निस्कने बेलामा पनि मंसिर ४ गतेपछि पनि फागुनसम्म अस्तिका सांसदहरूले तलबभत्ता खाइराख्ने व्यवस्था गर्न लागेका थिए । त्यसको विरुद्धमा मैले यो अनुचित हुन्छ भनेर यो चोटि संसदमा म एक्लै छु । मैले यस्ता अनुचित कार्यको विरोध गर्नेबाहेक रोक्न सक्दिनँ । आगामी निर्वाचनमा देशभर मद्दत मागेर अर्को पटक यो अनुचित कार्य रोक्ने तागतसहित साथीहरू लिएर आउँछु भनेर त्यहाँबाट राजीनामा दिएर निस्केको थिएँ ।’ उनले भने ।  

Logo